२३ चैत, काठमाडौँ । सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेसँगै मुलुकमा झण्डै १० प्रतिशत इन्धन खपत कम हुने अनुमान गरिएको छ । नेपाल आयल निगमका अनुसार देशभर दैनिक २५ लाख लिटर पेट्रोल र ५० लाख लिटर डिजेल खपत हुँदै आएकोमा एक दिन थप बिदा हुँदा कुल उपभोगको १० प्रतिशत अर्थात् करिब ७ लाख ५० हजार लिटर इन्धन बचत हुने देखिएको हो ।
मध्यपूर्वमा जारी युद्धका कारण सिर्जित पेट्रोलियम सङ्कट टार्न सरकारले आइतबार र शनिबार सरकारी कार्यालय तथा शिक्षण संस्थामा बिदा दिने निर्णय गरेको छ। निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार यो निर्णयले इन्धन सङ्कट समाधानमा कति ठोस योगदान पुर्याउँछ भन्ने यकिन गर्न भने कम्तीमा एक हप्ता कुर्नुपर्नेछ। “बजारको माग र खपतको ट्रेन्ड बुझ्न केही समय लाग्छ, तर इन्धन बचतमा यसको प्रभाव सकारात्मक रहने निश्चित छ,” प्रवक्ता ठाकुरले भने ।
निगमले सरकारको यो निर्णयलाई सफल बनाउन उपभोक्ताहरूको सहयोग अपरिहार्य रहेको जनाएको छ। प्रवक्ता ठाकुरले थप बिदाको समयलाई ‘घुमफिर’ मा प्रयोग नगर्न आग्रह गर्दै भन्नुभयो, “बिदा पाइयो भनेर निजी सवारी साधन लिएर घुम्न निस्कने हो भने इन्धन बचतको उद्देश्य पूरा हुँदैन, त्यसैले सर्वसाधारणले यसमा संयमता अपनाउनुपर्छ।”
नेपालमा हप्तामा दुई दिन बिदा दिने प्रयोग यो पहिलो भने होइन । यसअघि वि.सं. २०५६ सालमा पहिलोपटक यो अभ्यास सुरु गरिएको थियो, जुन दुई वर्षसम्म चलेको थियो । त्यस्तै, पछिल्लो पटक २०७९ सालमा तत्कालीन सरकारले इन्धन बचाउनकै लागि दुई दिन बिदाको निर्णय गरे पनि सेवा प्रवाहमा समस्या आएको र अव्यावहारिक भएको भन्दै चर्को विरोध भएपछि एक महिनामै उक्त निर्णय खारेज गरिएको थियो ।
यसपटक पनि सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि र वैदेशिक मुद्रा सञ्चितिमा परेको चापलाई ध्यानमा राख्दै यो पुरानै अस्त्र प्रयोग गरेको हो । तर, विगतमा जस्तै सेवाग्राहीलाई सास्ती हुने र निर्णय पुनः फिर्ता हुने त होइन भन्ने आशंका भने कायमै छ ।