काठमाडौं । नेपालको ठूलामध्येको एक व्यावसायिक घराना हो शंकर ग्रुप । यो ग्रुप जति चर्चित छ, त्यति नै विवादास्पद पनि । यो समाचार शंकर ग्रुप र यसका सञ्चालकहरूको विवादका बारेमा नभई कारोबार र ऋणका बारेमा केन्द्रित छ ।
पछिल्लो दशकमा कारोबारको आकार ह्वात्तै बढाएको यो समूह नेपालको बैंकिङ प्रणालीबाट सबैभन्दा बढी ऋण लिने व्यावसायिक घराना हो ।
कुनै पनि व्यवसायीले आफ्नै पैसाले मात्रै व्यापार व्यवसाय गर्न सक्दैन । कि त उसले बैंकबाट ऋण लिनुपर्छ कि त ऋणपत्र जारी गरेर सर्वसाधारणबाट स्रोतको संकलन गर्नुपर्छ । व्यवसायीले अरूबाट लिएको ऋण जोखिम मोलेर लगानी गर्छ र आफूले नाफा कमाउँछ । उसले रोजगारी सिर्जना गर्छ र राज्यलाई कर तिर्छ ।
नेपालको बैंकिङ प्रणालीबाट सबैभन्दा बढी ऋण लिने शंकर समूह किन सबैभन्दा बढी कर तिर्ने व्यावसायिक घरानामा पर्दैनरु यो प्रश्नको जवाफ यो समूहका सञ्चालकहरूले दिन सक्दैनन् । किनभने उनीहरूको व्यावसायिक साम्राज्य नै ऋणको आडमा विस्तार भएको छ ।
केही वर्षयतादेखि शंकर ग्रुपले एक आर्थिक वर्षमा करिब खर्ब रुपैयाँको व्यापार गर्दै आएको तथ्यांकले देखाउँछ । करिब खर्ब बराबरको कारोबार गर्दै आएको ग्रुपका विभिन्न कम्पनीले १ खर्ब २१ अर्ब रुपैयाँभन्दा बढी कर्जा सीमा लिएका छन् । ८० अर्ब रुपैयाँको हाराहारीमा त ऋण नै चलाएका छन् ।
अब प्रश्न उठ्छ– कारोबारकै आकारको हाराहारीमा बैंकले कसरी ऋण दिए होलान्रु यसको छानबिन र अनुसन्धान गर्ने जिम्मा नेपाल राष्ट्र बैंकको हो । राष्ट्र बैंकले के गरिरहेको छ, त्यो उसैले जानोस्स सवाल यो मात्रै हो कि सर्वसाधारणले बैंकमा जम्मा गरेको निक्षेप कसैले दुरुपयोग नगरोस् । पुँजी पलायनको पाटोमा पनि बालेन सरकारले छानविन गरोस् ।
करिब खर्ब बराबरको कारोबार र खर्बभन्दा बढी कर्जा सीमा लिँदै आएको शंकर ग्रुपका अध्यक्ष र उनका छोरासमेत रहेका ग्रुपका उपाध्यक्ष सुलभ अग्रवाल पक्राउ परेका छन् ।
पब्लिक लिमिटेडको रकम दुरुपयोग गरी सेयर कारोबार गरेको भन्दै व्यवसायी दीपक भट्ट गत साता पक्राउ परे । भट्टमाथि अनुसन्धान हुँदै गर्दा शंकरलाल र सुलभलाई पनि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ भने अर्का छोरा साहिल अग्रवालमाथि सोही कसुरमा अनुसन्धान भइरहेको छ ।
देशकै ठूलो व्यावसायिक समूहका प्रमुख व्यक्तिहरू पक्राउ पर्दा खर्ब बराबरको कारोबार गर्ने र बैंकहरूबाट खर्बभन्दा माथि ऋण स्वीकृत भएका व्यवसाय के होला भन्ने चासो बढेको छ ।
९० वर्षअगाडि नेपालमा व्यापार सुरु गरेको शंकर ग्रुप देशकै ठूलामध्येको एक व्यावसायिक समूह हो । बिमा, स्टिल, सिमेन्ट, अटोमोबाइल, खाद्यान्न, एफएमसीजी, धागो, होटल, हाइड्रोपावरलगायतका क्षेत्रमा शंकर ग्रुपको लगानी रहेको देखिन्छ । यी सबै कम्पनीहरूको वार्षिक कारोबार खर्बको हाराहारीमा देखिएको हो ।
शंकर ग्रुपका विभिन्न १५ कम्पनीले कर्जा लिन गरेको क्रेडिट रेटिङमा उनीहरूको वार्षिक कारोबार ८० अर्ब रुपैयाँ रहेको छ । देशका ३ वटा रेटिङ एजेन्सीमार्फत सार्वजनिक तथ्यांकमा ८० अर्ब रुपैयाँको कुल व्यापार देखिए पनि ग्रुपअन्तर्गत करिब ४० कम्पनी रहेकाले वार्षिक व्यापार ८० अर्ब रुपैयाँभन्दा बढी नै रहेको अनुमान गर्न सकिन्छ । व्यापार घट्न थालेपछि यो समूहका कतिपय कम्पनीहरुले रेटिङ एजेन्सीलाई तथ्यांक नै उपलब्ध नगराएको पनि पाइएको छ । यसले बैंकहरुको लगानी जोखिममा भएको प्रष्ट संकेत गर्छ ।
शंकरलाल अग्रवाल अध्यक्ष रहेको शंकर समूहअन्तर्गत नै दुई समूह छन् । जसमध्ये जगदम्बा होल्डिङ्सको नेतृत्व सुलभ अग्रवालले र जगदम्बा ग्रुपको नेतृत्व साहिल अग्रवालले गरिरहेको देखिन्छ । यी दुई जनाले नै शंकर समूहको व्यवसाय सञ्चालन गर्दै आएका छन् ।
रेटिङ एजेन्सीले सार्वजनिक गरेको तथ्यांक संकलन गर्दा शंकर ग्रुप र अन्य ग्रुपसँगको सहकार्यमा सञ्चालित कम्पनीहरूको पनि कारोबार समावेश गरिएको छ । ग्रुपले आफ्नो व्यवसायलाई देशव्यापी विस्तार गर्न अन्य धेरै ग्रुपसँग सहकार्यमा उद्योगहरू सञ्चालन गर्दै आएको छ ।
कुन कम्पनीले कति गर्छन् कारोबार ?
जगदम्बा स्टिल्स: जगदम्बा स्टिल्सको व्यापार हरेक वर्ष घट्दो क्रममा रहेको पाइएको छ । कम्पनीको पछिल्लो अर्थात् गत आवको पूर्ण तथ्याङ्क उपलब्ध नभए तापनि पहिलो त्रैमासको कारोबारले यो घट्दो क्रममा रहेको देखिन्छ । कम्पनीले सन् २०२२ मा ४९ अर्ब ७३ करोड ६० लाख रुपैयाँको कारोबार गरेको थियो ।
सन् २०२३ मा यो घटेर ३९ अर्ब ४३ करोड रुपैयाँमा सीमित भयो । कम्पनीको व्यापार पुनः २०२४ मा घटेर २९ अर्ब ७२ करोड ७० लाख रुपैयाँ पुगेको थियो । कम्पनीको तथ्याङ्क हेर्दा हरेक वर्ष करिब १० अर्ब रुपैयाँले व्यापार कम भएको देखिन्छ । त्यस्तै, कम्पनीले सन् २०२५ (प्रक्षेपितरहालसम्म) मा ५ अर्ब ६६ करोड ६० लाख रुपैयाँको कारोबार गरेको छ ।
सन् १९९३ मा स्थापना भएको यो कम्पनी नेपालको स्टिल क्षेत्रकै सबैभन्दा ठूलो कम्पनी हो । कम्पनीले प्राथमिक सेयर निष्कासनको तयारीसहित सन् २०२२ मा आफूलाई पब्लिक कम्पनीमा परिणत गरेको थियो ।
कम्पनीले विभिन्न प्रकारका स्टिलजन्य सामग्री उत्पादन गर्दै आएको छ । कम्पनीसँग वार्षिक २४ लाख ४४ हजार मेट्रिक टन उत्पादन क्षमता छ । कम्पनीले कोल्ड रोल्ड प्रोडक्ट, रोलिङ मिल प्रोडक्ट, वायर प्रोडक्ट र मेल्टिङ प्रोडक्टको उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ । कम्पनीका देशभर ५ सय ९० भन्दा बढी डिलर छन् ।
कम्पनीले उत्पादन गरेका सामग्री जगदम्बा ई, राइनो ५००डी, जगदम्बा सुपर साइन, जगदम्बा ग्याल्भा प्लस, जगदम्बा पाइप र जगदम्बा वायर ब्रान्डमा बिक्री वितरण हुँदै आएका छन् । कम्पनीमा शंकर ग्रुपको पूर्ण स्वामित्व छ भने यसको अध्यक्षमा साहिल अग्रवाल छन् ।
जगदम्बा मोटर्स : नेपालका लागि टीभीएस मोटर्स कम्पनी र प्रोटोन कारको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले सन् २०२४ मा ८ अर्ब ८२ करोड २० लाख रुपैयाँको कारोबार गरेको थियो । कम्पनीले गत आवमा गरेको कारोबार भने सार्वजनिक गरेको छैन ।
कम्पनीले सन् २०२३ मा ७ अर्ब ८४ करोड ६० लाख रुपैयाँ र सन् २०२२ मा १३ अर्ब ६१ करोड ८० लाख रुपैयाँको कारोबार गरेको थियो । सन् २०१० मा स्थापना भएको यो कम्पनी सन् २०१५ देखि टीभीएस मोटर्स कम्पनीको आधिकारिक विक्रेता हो । त्यस्तै, कम्पनी सन् २०२० देखि नेपालका लागि प्रोटोन कारको आधिकारिक विक्रेता पनि बनेको हो । शंकर ग्रुपको यो कम्पनीको व्यवस्थापन साहिल अग्रवालले सम्हाल्दै आएका छन् ।
जगदम्बा मोबाइल्स : नेपालका लागि रियलमी स्मार्टफोन र रियलमी मोबाइल टेलिकम्युनिकेसन एसेसरिजको आधिकारिक विक्रेता जगदम्बा मोबाइल्सले गत आवमा १ अर्ब ७९ करोड ५० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२४ मा २ अर्ब ६ करोड ४० लाख रुपैयाँ, सन् २०२३ मा २ अर्ब ७६ करोड २० लाख रुपैयाँ र सन् २०२२ मा ३ अर्ब २४ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो ।
सन् २०११ मा स्थापना भएको यो कम्पनीले स्मार्टफोनका साथै प्रिमियम ब्रान्डको सफारी लगेज र बोल्ट अडियो डिभाइस पनि बिक्री वितरण गर्दै आएको छ । कम्पनीमा सुलभ अग्रवालको एकल स्वामित्व छ ।
जगदम्बा हायर पर्चेज : जगदम्बा हायर पर्चेजले गत आवमा १ अर्ब ५३ करोड २० लाख रुपैयाँ पोर्टफोलियो व्यवस्थापन गरेको छ । कम्पनीले सन् २०२४ मा १ अर्ब १३ करोड ९० लाख रुपैयाँ, सन् २०२३ मा १ अर्ब ३९ करोड ६० लाख रुपैयाँ, सन् २०२२ मा १ अर्ब ४३ करोड ४० लाख रुपैयाँ र सन् २०२१ मा १ अर्ब ४१ करोड ८० लाख रुपैयाँ पोर्टफोलियो व्यवस्थापन गरेको थियो ।
कम्पनीले सन् २०१९ मा सबैभन्दा बढी पोर्टफोलियो व्यवस्थापन गरेको थियो, त्यसपछि यो लगातार घट्दै गएको देखिन्थ्यो । तर, गत आवमा भने यसमा वृद्धि भएको पाइएको छ । कम्पनीले गत आवमा १ अर्ब ५३ करोड २० लाख रुपैयाँभन्दा बढी पोर्टफोलियो व्यवस्थापन गर्दा ७७ करोड ६० लाख रुपैयाँ कर्जा लिई व्यवस्थापन गरेको थियो । कम्पनीले गत आवमा २३ करोड १० लाख रुपैयाँ आम्दानी गरेको छ, जसमा कम्पनीले ४ करोड ५० लाख रुपैयाँ खुद नाफा कमाएको छ । सन् २०२४ मा कम्पनीले २ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
सन् २०१६ मा जगदम्बा क्रेडिट एन्ड इन्भेस्टमेन्ट प्रालिको नाममा दर्ता भएको यो कम्पनी सन् २०२२ मा पब्लिक कम्पनीमा परिणत भएको थियो । सन् २०२४ मा कम्पनीको नाम परिवर्तन गरी जगदम्बा हायर पर्चेज राखिएको थियो ।
नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त यस कम्पनीले दुईपाङ्ग्रे, तीनपाङ्ग्रे, चारपाङ्ग्रे र हेभी इक्विपमेन्ट खरिदमा हायर पर्चेज कर्जा प्रदान गर्दै आएको छ । कम्पनीले ६ वटा विभिन्न क्षेत्रमा उक्त सेवा प्रदान गर्दै आएको हो । शंकर ग्रुपको यस कम्पनीमा ९९.८० प्रतिशत स्वामित्व साहिल अग्रवालको छ ।
जगदम्बा अटो ग्रुप : टीभीएस ब्रान्डका दुईपाङ्ग्रे र तीनपाङ्ग्रे सवारीसाधन बिक्री गर्ने जगदम्बा अटो ग्रुपले गत आवमा ६ अर्ब ९९ करोड ९० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२४ मा ४ अर्ब ८५ करोड रुपैयाँ र सन् २०२३ मा २ अर्ब ७३ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो । त्यस्तै, कम्पनीले चालु आवको ६ महिनाको अवधिमा ४ अर्ब ४२ करोड २० लाख रुपैयाँको व्यापार गरिसकेको छ ।
सन् २०१४ मा स्थापना भएको यो कम्पनी नेपालका लागि आधिकारिक एसेम्बल युनिट कम्पनी हो । कम्पनीले दुईपाङ्ग्रे र तीनपाङ्ग्रे सवारीसाधन उत्पादन गरी टीभीएस ब्रान्डमा बिक्री वितरण गर्दै आएको छ । साथै, कम्पनी टीभीएस ब्रान्डको सवारीसाधन बेच्ने आधिकारिक विक्रेता पनि हो । शंकर ग्रुपद्वारा सञ्चालित यस कम्पनीमा साहिल अग्रवालको एकल स्वामित्व छ।
जगदम्बा सिन्थेटिक्स : जगदम्बा सिन्थेटिक्सले गत आवमा २ अर्ब १ करोड रुपैयाँको कारोबार गरेको छ । कम्पनीले सन् २०२४ मा १ अर्ब ६८ करोड ५० लाख रुपैयाँ र सन् २०२३ मा १ अर्ब ७० करोड ३० लाख रुपैयाँको व्यापार गरेको थियो ।
सन् २००२ मा स्थापना भएको यस कम्पनीले पोलिप्रोपिलिन ओभन फ्याब्रिक र ब्याग उत्पादन गर्दै आएको छ, जुन सिमेन्ट, खाद्यान्न, पोलिकर र प्याकेजिङका लागि प्रयोग हुन्छ । कम्पनीले विशेषगरी सामग्री प्याकेजिङ ब्याग र कभरिङ सामग्री उत्पादन गर्छ । कम्पनीले मासिक ३ हजार मेट्रिक टन क्षमतामा फ्याब्रिक र ब्याग उत्पादन गर्दै आएको छ । शंकर ग्रुपअन्तर्गतको यो कम्पनीको निर्देशक सुलभ अग्रवाल हुन् ।
जगदम्बा इन्टरप्राइजेज : जगदम्बा इन्टरप्राइजेजले सन् २०२२ मा १५ अर्ब ४६ करोड १० लाख रुपैयाँ र सन् २०२३ मा १५ अर्ब ४६ करोड रुपैयाँको व्यापार गरेको थियो । त्यस्तै, कम्पनीले सन् २०२४ मा १४ अर्ब ६९ करोड रुपैयाँको व्यापार गरेको थियो । कम्पनीले गत आवमा गरेको कारोबारको विवरण हालसम्म उपलब्ध छैन । कम्पनीको तथ्याङ्क हेर्दा हरेक वर्ष १४ देखि १५ अर्ब रुपैयाँ बराबरको कारोबार भएको देखिन्छ ।
सन् २००१ मा स्थापना भएको यस कम्पनीले एमएस ब्ल्याक एन्ड ग्याल्भनाइज्ड पाइप उत्पादन गर्दै आएको छ । कम्पनीले विगत २० वर्षदेखि निरन्तर उच्च गुणस्तरका स्टिलजन्य सामग्री उत्पादन गर्दै आएको छ ।
कम्पनीले वार्षिक ९ लाख २० हजार ६ सय मेट्रिक टन क्षमतामा उद्योग सञ्चालन गरिरहेको छ । कम्पनीले उत्पादित सामग्री जगदम्बा र जाग शक्ति ब्रान्डमा बिक्री वितरण गर्दै आएको छ । कम्पनीको दैनिक कारोबारको जिम्मेवारी अनिल कुमार रुङ्गटा र विशाल पटवारीले सम्हाल्दै आएका छन् । कम्पनीमा सुलभ अग्रवालको २४ प्रतिशत स्वामित्व छ ।
शौर्य सिमेन्ट इन्डस्ट्रिज : तीन ठूला व्यावसायिक घरानाद्वारा सञ्चालित शौर्य सिमेन्ट इन्डस्ट्रिजले सन् २०२४ मा ७ अर्ब २ करोड ६० लाख रुपैयाँको कारोबार गरेको पाइएको छ । कम्पनीले सन् २०२३ मा ७ अर्ब ४० करोड ६० लाख रुपैयाँ र सन् २०२२ मा ७ अर्ब ४२ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो ।
त्यस्तै, कम्पनीले गत आवको ९ महिनाको अवधिमा ५ अर्ब ८७ करोड ६० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीमा शंकर ग्रुप, अम्बे ग्रुप, हुलास ग्रुप र अन्यको स्वामित्व छ । कम्पनीको अध्यक्ष सुलभ अग्रवाल हुन् । सन् २०१७ मा प्राइभेट कम्पनीका रूपमा दर्ता भएको यो कम्पनी सन् २०२२ मा पब्लिकमा परिणत भएको थियो । कम्पनीले प्रतिदिन ३ हजार मेट्रिक टन क्षमतामा सिमेन्ट उत्पादन गर्दै आएको छ ।
रिद्धि सिद्धि सिमेन्ट :शंकर ग्रुप र अम्बे ग्रुपद्वारा सञ्चालित रिद्धि सिद्धि सिमेन्टले सन् २०२४ मा ५ अर्ब ८१ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो । कम्पनीले सन् २०२३ मा ५ अर्ब ४६ करोड ७० लाख रुपैयाँ र सन् २०२२ मा ६ अर्ब ४८ करोड १० लाख रुपैयाँको व्यापार गरेको थियो । कम्पनीले गत आवको ९ महिनाको अवधिमा ३ अर्ब ९९ करोड ४० लाख रुपैयाँको व्यापार गरेको छ ।
सन् २०१३ मा स्थापना भएको यस कम्पनीले सिमेन्ट उत्पादन गरी बजारमा बिक्री वितरण गर्दै आएको छ । कम्पनीले वार्षिक ७ लाख मेट्रिक टन ग्राइन्डिङ सिमेन्ट र ८ लाख मेट्रिक टन क्लिङ्कर उत्पादन गर्ने क्षमता राख्छ । कम्पनीले ओपीसी र पीपीसी सिमेन्ट उत्पादन गरी रिद्धि सिद्धि ब्रान्डमा बिक्री गर्दै आएको छ ।
शुभश्री जगदम्बा सिमेन्ट मिल्स : शंकर ग्रुप र सौरभ ग्रुपद्वारा सञ्चालित शुभश्री जगदम्बा सिमेन्ट मिल्सको पछिल्लो तीन वर्षको कारोबार तथ्याङ्क उपलब्ध छैन । तर, विगतका वर्षहरूको तथ्याङ्कले कम्पनीले वार्षिक करिब ५ अर्ब रुपैयाँ बराबरको कारोबार गर्दै आएको देखाउँछ । कम्पनीले सन् २०२२ मा ४ अर्ब २१ करोड ४० लाख रुपैयाँ, सन् २०२१ मा ४ अर्ब ८७ करोड ७० लाख रुपैयाँ, सन् २०२० मा ४ अर्ब २२ करोड ७० लाख रुपैयाँ, सन् २०१ढ मा ५ अर्ब ९० करोड ९० लाख रुपैयाँ र सन् २०१८ मा ५ अर्ब ५५ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो । कम्पनीले वार्षिक ८ लाख टन ग्राइन्डिङ सिमेन्ट उत्पादन गर्छ र विशेषगरी ओपीसी र पीएससी सिमेन्ट उत्पादन गर्दै आएको छ ।
बलेफी हाइड्रोपावर : बलेफी हाइड्रोपावरले गत आवमा ८३ करोड रुपैयाँको कारोबार गरेको छ । कम्पनीले सन् २०२४ मा ८४ करोड ५० लाख रुपैयाँ र सन् २०२३ मा ५५ करोड ९० लाख रुपैयाँको कारोबार गरेको थियो । त्यस्तै, कम्पनीले चालु आवको पहिलो त्रैमासमा ३४ करोड ७० लाख रुपैयाँको कारोबार गरिसकेको छ ।
सन् २०१२ मा स्थापना भएको यो कम्पनी सन् २०१७ मा पब्लिक कम्पनीमा परिणत भएको थियो । कम्पनीले सिन्धुपाल्चोक जिल्लामा ३६ मेगावाट क्षमताको अपर बलेफी ‘ए’ विद्युत् आयोजनाबाट उत्पादन तथा कारोबार गर्दै आएको छ ।
कम्पनीले सन् २०२२ देखि व्यावसायिक कारोबार सुरु गरेको हो । गत जनवरीसम्ममा कम्पनीको कुल चुक्ता पुँजी ३ अर्ब ६५ करोड ५९ लाख रुपैयाँ रहेको छ । कम्पनीमा सुशील गुप्ता, प्रभा गोयन्का भिमसरिया, सन्दीप कुमार शारडा र बच्चु पौडेललगायत धेरै जनाको स्वामित्व छ । कम्पनीमा शंकर ग्रुपको पनि स्वामित्व छ भने अध्यक्ष विदुर पुरी शंकर ग्रुपको कर्पोरेट म्यानेजर पनि हुन् ।
मोदी इनर्जी :मोदी इनर्जीले सन् २०२४ मा ४१ करोड ६० लाख रुपैयाँ, सन् २०२३ मा ३६ करोड २० लाख रुपैयाँ र सन् २०२२ मा ३५ करोड ५० लाख रुपैयाँको कारोबार गरेको थियो । कम्पनीले गत आवको ६ महिनाको अवधिमा २८ करोड ७० लाख रुपैयाँको व्यापार गरेको छ ।
सन् १९९६ मा मनाङ ट्रेड लिंकको नाममा दर्ता भएको यो कम्पनी सन् २०१७ मा नाम परिवर्तन भई सन् २०१८ मा पब्लिक कम्पनी बनेको थियो । कम्पनीले पर्वत जिल्लामा २० मेगावाटको तल्लो मोदी खोला हाइड्रोपावर आयोजना निर्माण गरी सञ्चालन गरिरहेको छ । कम्पनीमा पशुपति मुरारका र श्रीसकुमार मुरारकाको अधिकांश स्वामित्व छ ।
कम्पनीमा मुरारका अर्गनाइजेसनसहित देवनारा ग्रुप, केएल दुगड ग्रुप र शंकर ग्रुपको पनि लगानी छ ।
जगदम्बा फ्लोर एन्ड एग्रो: जगदम्बा फ्लोर एन्ड एग्रो कम्पनीको पनि पछिल्लो तीन वर्षको कारोबार तथ्याङ्क समावेश छैन । तर, कम्पनीले सन् २०२२ मा ९५ करोड ६० लाख रुपैयाँ, सन् २०२१ मा ९४ करोड ९० लाख रुपैयाँ र सन् २०२० मा १ अर्ब २७ करोड ९० लाख रुपैयाँको कारोबार गरेको देखिन्छ । समग्रमा कम्पनीले वार्षिक १ अर्ब रुपैयाँ बराबरको कारोबार गर्ने गरेको अनुमान गर्न सकिन्छ ।
सन् २०१५ मा स्थापना भएको यस कम्पनीले गहुँ प्रशोधन गरी मैदा, पिठो (आँटा), सुजी, चोकर र अन्य सामग्री उत्पादन गरी जगदम्बा र शक्ति भोज ब्रान्डमा बिक्री वितरण गर्दछ । कम्पनीले खाद्य वस्तुसँगै चामल र चिनीको पनि कारोबार गर्छ । वार्षिक ३८ हजार २ सय मेट्रिक टन प्रशोधन क्षमता रहेको यस कम्पनीमा शंकर ग्रुपको पूर्ण स्वामित्व छ ।
जगदम्बा सिमेन्ट इन्डस्ट्रिज: शंकर ग्रुप र सौरभ ग्रुपको संयुक्त लगानी रहेको जगदम्बा सिमेन्ट इन्डस्ट्रिजले सन् २०२३ मा १ अर्ब ४४ करोड ७० लाख रुपैयाँ, सन् २०२२ मा २ अर्ब ६८ करोड २० लाख रुपैयाँ, सन् २०२१ मा २ अर्ब ४४ करोड रुपैयाँ र सन् २०१९ मा ३ अर्ब ७९ करोड ४० लाख रुपैयाँको कारोबार गरेको थियो । कम्पनीको तथ्याङ्क हेर्दा हरेक वर्ष करिब ३ अर्ब रुपैयाँ हाराहारीमा कारोबार गरेको देखिन्छ ।
सन् २००१ मा स्थापना भएको यस कम्पनीले दैनिक १ हजार टन ग्राइन्डिङ सिमेन्ट उत्पादन गर्ने इजाजतपत्र लिएको छ । कम्पनीले सिमेन्ट उत्पादन गरी बजारमा बिक्री वितरण गर्दै आएको छ । कम्पनीमा सात जनाको स्वामित्व छ ।
अपर बलेफी हाइड्रोपावरस् शंकर ग्रुपको लगानी रहेको अपर बलेफी हाइड्रोपावर निर्माणाधीन छ । कम्पनीको कुल कर्जा सीमा ७ अर्ब २५ करोड रूपैयाँ रहेको छ ।
हिल्टन होटल (जगदम्बा हस्पिटालिटी): भदौ २४ गते प्रदर्शनका क्रममा जगदम्बा हस्पिटालिटीले सञ्चालन गरेको हिल्टन होटलमा प्रदर्शनकारीले आगजनी गरेका थिए । ८ अर्ब रूपैयाँ लागतमा बनेको यो होटलका लागि ५ अर्ब ३० करोड रूपैयाँ कर्जा लिइएको थियो ।
हिल्टन होटलले वार्षिक कति रूपैयाँको कारोबार गर्छ भन्ने विस्तृत विवरण उपलब्ध छैन, तर समान प्रकृति र कोठा संख्याका आधारमा होटलले वार्षिक १ अर्ब रूपैयाँको कारोबार गर्ने अनुमान लगाउन सकिन्छ । जगदम्बा हस्पिटालिटीमा शंकर ग्रुपका प्रबन्ध निर्देशक शाहिल अग्रवालको ९० प्रतिशतभन्दा बढी स्वामित्व छ ।
कति छ ऋण?
विभिन्न क्षेत्रमा करिब ४० भन्दा बढी कम्पनी सञ्चालन गरे पनि मुख्यतया करिब डेढ दर्जन ठूला कम्पनीमा १८ वटा बैंक तथा वित्तीय संस्थाबाट १ खर्ब रुपैयाँभन्दा बढी कर्जा सीमा स्वीकृत भएको देखिन्छ ।
राष्ट्र बैंक स्रोतका अनुसार शंकर ग्रुपको मुख्य लगानी रहेका १३ वटा कम्पनीको १ खर्बभन्दा बढीको कर्जा स्वीकृत भएको छ । ‘एक दर्जनभन्दा बढी कम्पनीमा १ खर्बभन्दा बढीको कर्जा स्वीकृत भएको देखिन्छ,’ राष्ट्र बैंक स्रोतले भन्यो, ‘जसमध्ये १८ वटा बैंकबाट करिब ८० अर्ब कर्जा प्रयोग भएको देखिएको छ ।’
बैंकहरूले न्यूनतम ८० करोडदेखि बढीमा ८ अर्ब रुपैयाँसम्म कर्जा दिएको राष्ट्र बैंक स्रोतले जनाएको छ । शंकर समूहका २०२४ देखि २०२६ सम्म कर्जाका लागि क्रेडिट रेटिङ गराएका १७ वटा कम्पनीको कर्जा सीमाको विश्लेषण गर्दा १ खर्ब २१ अर्बभन्दा बढीको कर्जा सीमा रेटिङबाट लिएको देखिन्छ । शंकर समूहका अध्यक्ष र उपाध्यक्षमाथि नै प्रहरीले अनुसन्धान सुरु गरेपछि राष्ट्र बैंकले पनि उक्त समूहको कर्जामाथि सूक्ष्म निगरानी राखेको छ ।
बैंकहरूले कुल ५८ खर्ब ऋण लगानी गरेकोमा शंकर समूहको कर्जा करिब डेढ प्रतिशत हुने देखिन्छ । १८ वटा बैंकले शंकर ग्रुपका विभिन्न कम्पनीमा ऋण दिएका छन् ।
नेपाल राष्ट्र बैंक र विभिन्न रेटिङ एजेन्सीका अनुसार जगदम्बा स्टिलले ३३ अर्ब १५ करोड, सौर्य सिमेन्टले १४ अर्ब ८७ करोड, ऋद्धि सिद्धि सिमेन्टले ११ अर्ब ९४ करोड, शुभश्री जगदम्बा सिमेन्ट (सौरभ ग्रुपसँग पार्टनर रहेको) २ अर्ब १५ करोड, जगदम्बा सिमेन्ट (सौरभ ग्रुपसँग पार्टनर रहेको) १ अर्ब २४ करोड, जगदम्बा मोटर्स प्रालिले ५ अर्ब ९७ करोड, र जगदम्बा हस्पिटालिटी ग्रुप लि। (हिल्टन होटल) ले ५ अर्ब ३० करोड रुपैयाँको कर्जा सीमा लिएका छन् ।
त्यसैगरी, बलेफी हाइड्रोपावरले ६ अर्ब ७७ करोड, मोदी इनर्जीले ३ अर्ब ६५ करोड, अपर बलेफी हाइड्रोपावर ७ अर्ब २५ करोड, जगदम्बा अटो ग्रुप प्रालिले १ अर्ब ९१ करोड, जगदम्बा हायर पर्चेजले १ अर्ब ७२ करोड, जगदम्बा मोबाइल्सले ९० करोड, जगदम्बा स्पिनिङ मिल्सले ३ अर्ब ७२ करोड, जगदम्बा इन्टरप्राइजेज १५ अर्ब ८१ करोड, जगदम्बा सिन्थेटिक्सले ३ अर्ब ५९ करोड र जगदम्बा फ्लोर एन्ड एग्रोले १ अर्ब ५४ करोड रुपैयाँको कर्जा सीमा लिएका छन् ।