२७ चैत, काठमाडौँ । सरकारी सेवालाई प्रविधिमैत्री बनाउँदै नागरिकको हातहातमै पुर्याउने लक्ष्यका साथ सरकारले नागरिक एपमा महत्वपूर्ण सुविधाहरू थप गर्ने भएको छ ।
सूचना प्रविधि विभागले अबको एक साताभित्रै वैदेशिक अध्ययनका लागि अनिवार्य मानिने ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी), लोक सेवा आयोगको प्रवेश पत्र र निजामती कर्मचारीको व्यक्तिगत विवरण (पिआईएस) नागरिक एपबाटै प्राप्त गर्न सकिने गरी तयारी अन्तिम चरणमा पुर्याएको छ । हाल यी सुविधाहरू प्राविधिक परीक्षणको क्रममा रहेको र यो प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा आएसँगै सरकारी कार्यालयमा घण्टौँ लाइन बस्नुपर्ने र झन्झटिलो कागजी प्रक्रियाको सामना गर्नुपर्ने बाध्यतामा उल्लेख्य कमी आउने विभागका महानिर्देशक चन्द्र साहले जानकारी दिनुभएको छ ।
यो नयाँ व्यवस्था सरकारले भर्खरै ल्याएको ‘शासकीय सुधार सम्बन्धी एक सय कार्यसूची’ को कार्ययोजना अनुरूप अघि बढाइएको हो । सञ्चार मन्त्री डा।विक्रम तिमिल्सिनाले तोकिएको समयसीमा भित्रै काम सम्पन्न गर्न कडा निर्देशन दिएपछि विभागले अन्य सरकारी निकायहरूसँगको प्राविधिक समन्वयलाई तीव्र बनाएको छ ।
यसै प्रक्रिया अन्तर्गत नेपाल इन्जिनियरिङ परिषद्सँग समेत सम्झौता भइसकेकाले अब छिट्टै व्यावसायिक इन्जिनियरहरूको प्रमाणपत्र समेत डिजिटल रूपमै एपमा उपलब्ध हुने बताइएको छ । सरकारी सेवालाई एउटै प्लेटफर्मबाट उपलब्ध गराउने सरकारको दीर्घकालीन लक्ष्य अनुसार नागरिक एपलाई थप परिष्कृत बनाउँदै लैजाने विभागको योजना रहेको छ ।
यसअघि नै प्रहरी चारित्रिक प्रमाणपत्र (पुलिस क्लियरेन्स रिपोर्ट) अनलाइनबाटै वितरण गर्ने कार्य सफल भइसकेको पृष्ठभूमिमा यी नयाँ सुविधाहरूले डिजिटल नेपालको अवधारणालाई थप बल पुर्याउने देखिएको छ ।
विशेष गरी विदेश पढ्न जाने विद्यार्थी र सरकारी जागिरको तयारीमा रहेका युवाहरूलाई लक्षित गरी ल्याइएका यी सुविधाहरूले सेवा प्रवाहमा पारदर्शिता र छिटोछरितोपन ल्याउने विश्वास गरिएको छ । सूचना प्रविधि विभागका अनुसार अबको केही दिनमै औपचारिक उद्घाटन गरी यी सेवाहरू आम सर्वसाधारणका लागि खुल्ला गरिनेछ ।