काठमाडौं । टर्कीमा लगातार दोस्रो दिन विद्यालयमा गोली प्रहारको घटना सार्वजनिक भएको छ । बुधबार एउटा मिडल स्कुलमा १३ वर्षीय विद्यार्थीले अन्धाधुन्ध गोली चलाउँदा एक शिक्षक र आठ विद्यार्थीसहित ९ जनाको मृत्यु भएको छ । घटनााम करिब १३ जना घाइते भएका छन् । आक्रमणकारीले पछि आफैँलाई पनि गोली हानेका थिए ।
आक्रमणकारी कक्षा ८ मा अध्ययनरत विद्यार्थी थिए । उनी आफ्नो झोलामा पाँचवटा हतियार र सातवटा म्यागजिन लिएर विद्यालय पुगेका थिए ।
प्रारम्भिक जानकारीअनुसार ती हतियार उनका बुबाको (अवकाश प्राप्त प्रहरी अधिकारी) हुन सक्ने अनुमान गरिएको गभर्नर मुकेर्रम उनलुएरले जनाएका छन् ।
गभर्नरका अनुसार, आक्रमणकारी विद्यालयभित्रका दुईवटा कक्षाकोठामा प्रवेश गरेका थिए, जहाँ कक्षा ५ का विद्यार्थीहरू पढिरहेका थिए । उनले त्यहाँ अन्धाधुन्ध गोली चलाएका थिए । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको र उनीहरूको शल्यक्रिया भइरहेको छ ।
सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा गोलीबारी भइरहँदा धेरै विद्यार्थीहरू ज्यान जोगाउन विद्यालयको दोस्रो तलाबाट हामफालिरहेको देखिएको छ । सीसीटीभी फुटेजमा पनि आक्रमणकारीले विद्यालयको करिडोरमा विद्यार्थीहरूमाथि गोली चलाइरहेको देखिएको छ । न्यायमन्त्री अकिन गुर्लेकले यो घटनाको गम्भीर अनुसन्धान सुरु गरिएको बताएका छन् ।
यसअघि मंगलबार मात्रै टर्कीको सनलिउर्फा प्रान्तमा यस्तै घटना भएको थियो । एक १८ वर्षीय युवकले आफ्नो पुरानो विद्यालय (भोकेसनल हाई स्कुल)मा पसेर अन्धाधुन्ध गोली चलाउँदा विद्यार्थी र शिक्षकसहित १६ जना घाइते भएका थिए ।
गभर्नर हसन सिल्डाकका अनुसार, पूर्वविद्यार्थीले सटगन लिएर विद्यालय पुगेका थिए र अन्धाधुन्ध फायरिङ गरेपछि विद्यालयभित्रै लुकेका थिए । प्रहरीले घेरा हालेपछि आत्मसमर्पण गर्न अस्वीकार गर्दै उनले पनि आफैँलाई गोली हानेका थिए ।
टर्कीमा विद्यालयभित्र यस्ता गोली प्रहारका घटनाहरू निकै कम हुने गर्छन् । तर, लगातार दुई दिनमा भएका यी विभत्स घटनाहरूले देशको सुरक्षा व्यवस्था र हतियार नियन्त्रणलाई लिएर गम्भीर चिन्ता बढाएको छ ।