१४ वैशाख, काठमाडौं । तनहुँको चुँदी रम्घामा ‘भानु साहित्य उद्यान’ शिलान्यास भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले भानु नगरपालिका ४ मा उद्यान शिलान्यास गरेका हुन् ।
नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मभूमि चुँदी रम्घालाई नेपाली भाषा र साहित्यको अन्तर्राष्ट्रिय केन्द्र बनाउने लक्ष्यसहित ‘भानु साहित्य उद्यान’ निर्माण गर्न लागिएको हो ।
तत्कालीन अर्थमन्त्री वर्षमान पुनले २०८१ सालमा सार्वजनिक गरेको बजेट वक्तव्यमा तनहुँको चुँदी रम्घामा सबै नेपाली भाषाभाषीका मूर्धन्य स्रष्टाको प्रतिमा र सप्तधामसहितको भानु साहित्य उद्यान स्थापना गरिने उल्लेख छ ।
गरपालिकाका प्रवक्ता ईश्वरबहादुर घिमिरेका अनुसार सरकारले विनियोजन गरेको २० करोड रुपैयाँ बजेटबाट पहिलो चरणको निर्माण कार्य सुरु हुन लागेको हो ।
गुरुयोजना अनुसार उद्यानभित्र पहिलो चरणमा आधुनिक ‘भानु भवन’ निर्माण हुनेछ । क्रमशस् सातै प्रदेशका प्रमुख धार्मिक एवं सांस्कृतिक सम्पदाका नमूना र नेपाली साहित्यका मूर्धन्य व्यक्तित्वहरूको सालिक पनि स्थापना गर्ने योजना छ ।
गत पुसमा उक्त उद्यानको विस्तृत परियोजना प्रतिवेदन भानु नगरपालिकाले स्वीकृत गरेको थियो । यस ठाउँलाई सप्तधामका रुपमा विकास गर्ने उद्देश्य राखिएको छ ।
स्वीकृत गुरुयोजनाअनुसार साहित्य उद्यानको पूर्ण निर्माणका लागि करिब एक अर्ब बजेट खर्च हुने अनुमान गरिएको छ । चालु आर्थिक वर्षमा संघीय सहरी विकास मन्त्रालयबाट २० करोड रुपैयाँ बजेट विनियोजन भइसकेको नगरप्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिए ।
उक्त बजेटबाट शिखर कटेरीदेखि रम्घा डाँडासम्मको मोटरमार्ग स्तरोन्नति गरी कालोपत्रे सडक निर्माण गरिनेछ भने ५४ फिट उचाइको आदिकवि भानुभक्त आचार्यको विशाल प्रतिमा निर्माण गरिने उनले जानकारी दिए ।
हालसम्म गुरुयोजना कार्यान्वयनका लागि करिब ४०० रोपनी जग्गा प्राप्त भइसकेको छ ।
भानु साहित्यिक उद्यानका पछिल्लो दुई आर्थिक वर्षमा गरी एक करोड ८० लाख ४१ हजार ५०० रुपैयाँ खर्च भएको जनाइएको छ ।