२१ वैशाख, काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवं सांसद महावीर पुनले वर्तमान सरकारले विज्ञान, प्रविधि र नवप्रवर्तनको क्षेत्रलाई बेवास्ता गर्न खोजेको भन्दै कडा आपत्ति जनाएका छन् ।
विज्ञान तथा प्रविधि मन्त्रालयको अस्तित्व नै नामेट पार्न खोजिएको र नवप्रवर्तनलाई उद्योग मन्त्रालयअन्तर्गत मात्र खुम्च्याउन खोजिएको भन्दै पूर्व शिक्षामन्त्री समेत रहेका पुनले सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त गरेका हुन् ।
सोमबार बिहान फेसबुकमा एक स्टाटस लेख्दै पुनले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् । ‘यसो सामाजिक सञ्जालतिर हेर्दा त अहिलेको सरकारले विज्ञान प्रविधि, अनुसन्धान र नवप्रवर्तनसम्बन्धी काम गर्ला जस्तो छाँट त पटक्कै देखिएन,’ उनले लेखेका छन्, ‘बरु नवप्रवर्तनलाई त उद्योग मन्त्रालयतिर हाल्नु पो खोजेजस्तो बुझिन्छ । अनि विज्ञान प्रविधि मन्त्रालयको त बिउ नै निर्मूल पार्ला जस्तो पो बुझिन्छ ।’
नवप्रवर्तन कुनै एउटा मन्त्रालय वा उद्योग क्षेत्रमा मात्र सीमित नहुने पुनको तर्क छ । नवप्रवर्तन उद्योगमा मात्र नभई राजनीति, प्रशासन, सुशासन, स्वास्थ्य, कृषि, शिक्षा, व्यापार, विज्ञान प्रविधि, जीवन विज्ञान, सङ्गीत र साहित्यलगायत सबै क्षेत्रमा हुने उनले स्मरण गराएका छन् ।