काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशलाई दलगत कब्जाबाट निकाल्न अध्यादेश ल्याएको दाबी गरेका छन् । साथै उनले रास्वपाले संगठन बनाउन नसकेर शिक्षालय र कर्मचारीतन्त्रबाट दलगत राजनीति हटाउने कुरा नगरेको बताएका छन् ।
मंगलबार सामाजिक सञ्जाल फेसबूकमा लेख्दै उनले भनेका छन्,’चाहने हो भने आजकै दिनमा ठूला विद्यार्थी र कर्मचारी संगठन बनाउन सक्छ ।’
उनले वर्षौंदेखि धेरै संगठन विद्यार्थी र कर्मचारीको हितभन्दा बढी दलका ‘स्लिपर सेल’ बनेको भन्दै योग्यता भन्दा पहुँच, क्षमता भन्दा झोला र झण्डाको मूल्य बढाइयो । यसले प्रणालीप्रति नै जनताको विश्वास कमजोर बनाएको उल्लेख गरे ।
उनले भनेका छन्,’धेरै पत्रकार, नेता, अभियन्ता, व्यापारी र आम जनताले वर्षौंदेखि एउटै कुरा भन्दै आएका छन्, ‘विद्यार्थी र कर्मचारीतन्त्रलाई पार्टीकरणले बिगार्यो ।’
अर्को दलगत संगठन थप्दैमा शिक्षाको गुणस्तर नबढ्ने र कर्मचारीको सम्मान जोगिन्छ भन्ने कुरा विगतले देखाइसकेको उनले उल्लेख गरे ।
‘त्यसैले अब स्पष्ट निर्णय आवश्यक थियो, शिक्षालयमा दलको झण्डा निषेध । कर्मचारीतन्त्रमा दलको झोला निषेध । यसले अधिकार खोस्दैन, बरु पेशागत स्वतन्त्रता बलियो बनाउँछ । अब नियुक्ति, सरुवा र बढुवाको आधार दलगत निकटता होइन, विधि, क्षमता र दक्षता बन्नुपर्छ,’ उनले भने ।
देशलाई दलगत कब्जाबाट निकालेर संस्थागत मार्गमा ल्याउनका लागि अध्यादेशमार्फत यी विकृतिहरू हटाइएको उनले बताए ।
‘हामीलाई सबैको साथ र विश्वासको अपेक्षा छ, तपाइको साथ चाहिएको छ, विश्वास चाहिएको छ, किनकि परिवर्तन भाषणले होइन, निर्णयले आउँछ,’ उनले भनेका छन्,’हामी तपाइहरुकै जनचाहना बमोजीम काम गर्न सरकार मा आएका हौँ । तपाइहरु ढुक्क हुनुस्, हामी जे गर्छौं आम नेपाली जनताकै हितमा गर्छौं ।’