काठमाडौं । सरकारले त्रिभुवन विश्वविद्यालयसहित विभिन्न ८ विश्वविद्यालयमा रिक्त उपकुलपति पदका लागि दरखास्त आह्वान गरेको छ ।
विश्वविद्यालयका रिक्त उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले आज सार्वजनिक सूचनामार्फत् योग्य र इच्छुक व्यक्तिहरूबाट आवेदन मागेको हो ।
सूचना अनुसार त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयमा उपकुलपति नियुक्तिको प्रक्रिया अगाडि बढाइएको छ ।
यही वैशाख २४ गते स्वीकृत भएको ‘विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी एकीकृत कार्यविधि, २०८३’ बमोजिम दरखास्त आह्वान गरेको सूचनामा उल्लेख छ ।
आवेदनका लागि १० दिनको म्याद दिइएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइटबाट फाराम भर्न सकिने सूचनामा उल्लेख छ । साथै छनोट प्रक्रिया र योग्यता सम्बन्धी कार्यविधि पनि वेबसाइटमा राखिएको सूचनामा उल्लेख छ ।
सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश जारी गरेर यसअघिका उपकुलपति पदमुक्त भइसकेका छन् ।