पछिल्लो समय माछा तथा मासु बिक्रीमा उपभोक्ता ठगिएको गुनासो बढेपछि पर्सा जिल्ला प्रशासन कार्यालयले सरोकारवालासँग छलफल गरी सुधारका लागि विभिन्न निर्णय गरेको छ।
जिल्ला प्रशासन कार्यालय पर्साको सभाहलमा बिहिबार भएको छलफलमा नियमनकारी निकाय, उपभोक्ता हित संरक्षण मञ्च नेपाल तथा माछा–मासु व्यवसायीहरूको सहभागिता रहेको थियो। छलफलमा खसीको मासु भन्दै बाख्राको मासु बिक्री, सरसफाइको कमी, मूल्यमा एकरूपता नहुनु तथा कम तौल दिने जस्ता समस्या उठाइएका थिए।
उपभोक्ता हित संरक्षण मञ्च नेपालले उठाएका गुनासोपछि प्रमुख जिल्ला अधिकारी भोला दाहालले विषयलाई गम्भीर रूपमा लिँदै सरोकारवालासँग छलफल गरी समाधान निकाल्ने प्रतिबद्धता जनाएका थिए। सोही आधारमा गरिएको छलफलबाट विभिन्न निर्णयहरू गरिएको हो।
प्रमुख जिल्ला अधिकारी दाहालले उपभोक्ताको स्वास्थ्य र अधिकारसँग खेलबाड गर्न नदिने स्पष्ट पार्दै व्यवसायलाई व्यवस्थित, पारदर्शी र उपभोक्तामैत्री बनाउन सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताए।
छलफलबाट भएका प्रमुख निर्णयहरूमा अनुगमनलाई थप प्रभावकारी बनाउने, मूल्यसूची अनिवार्य राख्ने, मासुको स्पष्ट पहिचान खुलाएर मात्र बिक्री गर्ने, कम तौल दिने तथा ठगी गर्ने व्यवसायीमाथि कारबाही गर्ने, सरसफाइ कायम गर्ने, मूल्य एकरूपता कायम गर्न समन्वय गर्ने, उपभोक्ता सचेतना कार्यक्रम सञ्चालन गर्ने तथा नियमित बजार अनुगमन गर्ने लगायतका विषय समावेश छन्।
व्यवसायीहरूले पनि उपभोक्ताको विश्वास कायम राख्दै जिम्मेवार रूपमा व्यवसाय सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन्। उपभोक्ता हित संरक्षण मञ्च नेपालले प्रशासनको पहल सकारात्मक रहेको बताउँदै निर्णयहरूको प्रभावकारी कार्यान्वयनमा जोड दिएको छ।