प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले अत्यावश्यकबाहेक नयाँ सामग्री खरिद नगरी सार्वजनिक खर्चमा मितव्ययिता अपनाउन सबै निकायलाई निर्देशन दिएको छ।
कार्यालयले सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालय, निकाय, प्रदेश सरकार र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयहरूलाई परिपत्र गर्दै आवश्यक नपरेका सामान खरिद नगर्न आग्रह गरेको हो।
परिपत्रमा कार्यालय प्रमुखहरूलाई कार्यालयमा रहेका सामग्री, औजार, उपकरण, फर्निचर र सवारीसाधनलाई सकेसम्म मर्मत गरी प्रयोगमा ल्याउन र नयाँ खरिदलाई नियन्त्रण गर्न भनिएको छ।
‘अत्यावश्यक बाहेक नयाँ सामग्री खरिद नगरी कार्यालयमा उपलब्ध कुर्सी, दराज, सोफा, कार्पेट, पर्दा, गमला, कम्प्युटर, मोबाइल, ल्यापटप लगायतका सामग्रीलाई चालु अवस्थामा राखी प्रयोग गर्न र सार्वजनिक खर्चमा मितव्ययिता अपनाउन अनुरोध छ,’ परिपत्रमा उल्लेख गरिएको छ।