वीरगन्जस्थित नारायणी अस्पताल सहित देशभरका सरकारी अस्पताल तथा स्वास्थ्य निकायमा करोडौँ मूल्य बराबरका औषधि र स्वास्थ्य सामग्री म्याद सकिएर थन्किएको पाइएको छ ।
महालेखा परीक्षकको कार्यालय को ६३औँ वार्षिक प्रतिवेदनअनुसार विभिन्न स्वास्थ्य संस्थामा ९ करोड १७ लाख रुपैयाँ बराबरका औषधिजन्य सामग्री तथा कीट प्रयोगविहीन अवस्थामा पुगेका हुन् ।
प्रतिवेदनले सरकारी स्वास्थ्य संस्थामा औषधि खरिद, भण्डारण र वितरण प्रणालीमा गम्भीर कमजोरी रहेको औँल्याएको छ । स्वास्थ्य सेवा विभाग मा मात्रै २८ प्रकारका ४ करोड ७२ लाख २० हजार रुपैयाँ बराबरका औषधि म्याद सकिएको अवस्थामा भेटिएका छन् ।
त्यसैगरी राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र मा ४७ लाख ७० हजार रुपैयाँ बराबरका सामग्री उपयोगविहीन बनेका छन् भने वीर अस्पताल मा ६०१ प्रकारका १ करोड ४३ लाख ७५ हजार रुपैयाँका औषधि प्रयोग गर्न नमिल्ने अवस्थामा पुगेका छन् ।
यस्तै, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान मा १ करोड १९ लाख ९६ हजार रुपैयाँ तथा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल मा १ करोड २३ हजार रुपैयाँ बराबरका म्याद सकिएका सामग्री थुप्रिएको उल्लेख छ ।
महालेखाले सम्झौताअनुसार म्याद समाप्त भएका वा उपयोग नभएका औषधि आपूर्तिकर्ताबाट प्रतिस्थापन गर्नुपर्ने व्यवस्था भए पनि कार्यान्वयन नहुँदा राज्यको ठूलो लगानी खेर गएको जनाएको छ ।
प्रतिवेदनमा भनिएको छ, “स्वास्थ्य संस्थाले खरिद गरेका औषधिको म्याद समाप्त भएमा, टुटफुट भएमा वा अधिक मौज्दात रहेमा सम्झौताको सर्तअनुसार आपूर्तिकर्ताबाट प्रतिस्थापन गर्नुपर्दछ ।”
सरकारी अस्पतालमा देखिएको यस्तो लापरबाहीले सार्वजनिक स्वास्थ्य सेवा व्यवस्थामाथि नै प्रश्न उठाएको छ ।