उच्च अदालत जनकपुर अस्थायी इजलाश वीरगंजका न्यायधीश गोकर्ण डाँगीले अहिले मिडिया र पत्रकार भएन भने मुलुकमा शान्ति हुन नसक्ने बताएका छन्। क्रियाशील युवा पत्रकार मञ्च पर्साको दोस्रो साधारणसभाको उद्घाटन गर्दै उनले मिडियाविना सरकार, न्यायपालिका र लोकतान्त्रिक प्रणाली प्रभावकारी रूपमा अघि बढ्न नसक्ने बताए। उनले मिडियाले व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकालाई सही दृष्टिकोण दिन सक्ने उल्लेख गर्दै पत्रकारका मागलाई सरकारले सम्बोधन गर्नुपर्ने सुझाव दिए।
मुख्य न्यायाधीश डाँगीले २०४६ सालको जनआन्दोलन, २०६२र०६३ को आन्दोलनलगायत मुलुकका हरेक परिवर्तनमा मिडियाले नागरिक आवाजको प्रतिनिधित्व गर्दै महत्वपूर्ण भूमिका खेलेको बताए। “मिडियाको अभावमा न्यायालयको पनि शुद्धीकरण हुन सक्दैन,” उनले भने।
उनले पछिल्लो समय आर्थिक र प्रविधिको क्षेत्रमा तीव्र परिवर्तन भइरहेको उल्लेख गर्दै पत्रकारिताले बदलिँदो चुनौतीसँग सामना गर्दै जिम्मेवार ढंगले अघि बढ्नुपर्ने धारणा राखे।
मन्त्रीपरिषद्को चैत १८ गतेको परिपत्रका कारण नेपाली सञ्चार क्षेत्रमा उत्पन्न समस्याप्रति चिन्ता व्यक्त गर्दै उनले पत्रकारितामाथि हुने दबाब लोकतन्त्रका लागि घातक हुने बताए।
कार्यक्रममा के.सी, लामिछानेले सरकारले सञ्चार क्षेत्रलाई कमजोर बनाएर “सफ्ट कन्ट्रोल” गर्ने प्रयास गरिरहेको आरोप लगाए। उनले सरकारी सूचना तथा विज्ञापनमा नियन्त्रण गरेर आलोचनात्मक मिडियालाई दबाबमा राख्न खोजिएको बताए।
उनले निजी तथा सामुदायिक सञ्चार संस्थालाई सरकारी सूचना र विज्ञापनबाट वञ्चित गर्नु संघीयताको भावना विपरीत भएको बताए। पत्रकारसँग कुनै संवैधानिक शक्ति नभए पनि नागरिकको विश्वास नै पत्रकारिताको सबैभन्दा ठूलो शक्ति भएको उनको भनाइ थियो।
नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जारा ले सञ्चार क्षेत्रका समस्या समाधानका लागि सम्पूर्ण पत्रकार एकजुट हुनुपर्ने बताए। उनले पत्रकारिताको पेशागत शुद्धतामा पनि ध्यान दिन आग्रह गरे।
कार्यक्रममा मञ्चद्वारा प्रकाशित स्मारिकाको विमोचन गरिएको थियो भने विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मानसमेत गरिएको थियो। साथै संस्थापक सदस्य स्वर्गीय नरेश सर्राफ की छोरीलाई सम्मानपत्रसहित नगद सहयोग प्रदान गरिएको थियो।