वीरगंज महानगरपालिका र ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरको सहकार्यमा आइतबार वीरगंजको मुख्य व्यापारिक तथा व्यस्त क्षेत्र घण्टाघर आसपासमा बृहत् सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ।
सरसफाइ दिवसको अन्तिम दिन आयोजित कार्यक्रममा दमकल प्रयोग गरी सडक तथा सार्वजनिक स्थलहरू धुने, फोहोर संकलन गर्ने तथा वातावरण स्वच्छ राख्ने अभियान सञ्चालन गरिएको थियो। कार्यक्रममा स्थानीयवासी, समाजसेवी तथा विभिन्न सरोकारवाला निकायहरूको सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष तथा वीरगञ्ज महानगरपालिकाका सरसफाइ एवं हरियाली प्रमुख जयप्रकाश खेतानले सरसफाइ दिवस केवल औपचारिक कार्यक्रम नभई समाजमा स्वच्छता र हरियालीप्रति जनचेतना फैलाउने अभियान भएको बताउनुभयो।
उहाँले ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र स्थापना भएदेखि नै वीरगञ्जलाई सफा, हराभरा तथा वातावरणमैत्री सहर बनाउने उद्देश्यसहित वृक्षारोपण, संरक्षण र सरसफाइ कार्यक्रम सञ्चालन हुँदै आएको जानकारी दिनुभयो।
खेतानले वातावरण संरक्षण तथा स्वच्छ सहर निर्माणका लागि स्थानीयवासीको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता अभियानलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा सहभागीहरूले सार्वजनिक स्थलको नियमित सरसफाइ र हरियाली प्रवर्द्धनले सहरको सौन्दर्य वृद्धि गर्नुका साथै स्वस्थ वातावरण निर्माणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए।
