बारा जिल्लाको करैयामाई गाउँपालिका वडा नम्बर ७ स्थित श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, बारा बजारमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।बारा फाउन्डेशनको आयोजनामा तथा करैयामाई गाउँपालिकाको सहयोगमा सम्पन्न उक्त शिविरमा विभिन्न विशेषज्ञ चिकित्सकहरूको टोलीले स्थानीय बासिन्दाको स्वास्थ्य परीक्षण गरेको हो।
फाउन्डेशनकी अध्यक्ष मुना खान चौधरीको अध्यक्षतामा तथा युवा समाजसेवी राकेश सरार्फको प्रमुख आतिथ्यतामा शिविर सम्पन्न भएको थियो।
शिविरमा जनरल फिजिसियन डा। अक्षय चौधरीको नेतृत्वमा आएको टोलीले सामान्य स्वास्थ्य परीक्षण गरेको थियो। साथै दृष्टी आँखा अस्पताल, वीरगञ्जका नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा। अशोक पासवान, इन्द्रा सुरेश मेडिकल नरहीका दन्त चिकित्सक कन्हैया पटेल तथा नेत्र चिकित्सकहरूले समेत सेवा प्रदान गरेका थिए।
कार्यक्रममा करैयामाई गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख जितेन्द्र पासवान, बौद्धीमाई नगरपालिका रौतहटका प्रमुख प्रशासकीय अधिकृत उदय शंकर चौधरी, समाजसेवी रमेश चौधरी, राज राउत, रामेश्वर चौधरी, सञ्चारकर्मी तथा फाउन्डेशनका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
स्वागत मन्तव्य शिक्षक अर्जुन चौधरीले दिएका थिए भने कार्यक्रमको सञ्चालन जितेन्द्र चौधरीले गरेका थिए।आयोजकका अनुसार शिविरमा महिला तथा पुरुष गरी कुल ४२५ जनाले स्वास्थ्य परीक्षण गराएका थिए।