४ जेठ, काठमाडौं । यूएईको अबुधाबीस्थित बराकाह पावर प्लान्टमा ड्रोन आक्रमण भएको छ । आक्रमणबाट प्लान्टमा आगो लागेको समाचार एजेन्सीहरुले जनाएका छन् ।
बराकाह पावर प्लान्ट यूएईको सबैभन्दा ठूलो विद्युत् स्रोत हो । यहाँ उत्पादन हुने प्रत्येक मेगावाट बिजुली कार्बनमुक्त हुने बताइन्छ ।
यूएईको विदेश मन्त्रालयका अनुसार दफरा क्षेत्रमा रहेको बराकाह परमाणु ऊर्जा केन्द्रमा आइतबार पश्चिमी सीमाबाट ड्रोन आक्रमण भएको थियो । यूएईले हालसम्म यो आक्रमण कसले गरेको हो भन्ने खुलाएको छैन ।
तर मन्त्रालयले देशको सुरक्षामाथि प्रत्यक्ष खतरा र अन्तर्राष्ट्रिय कानुनको स्पष्ट उल्लंघन भन्दै आक्रमणको कडा निन्दा गरेको छ । साथै शत्रु पक्षलाई सैन्य वा कूटनीतिक जवाफ दिने अधिकार सुरक्षित रहेको जनाएको छ ।
यसअघि यूएईको सरकारी मिडिया हाउसले ड्रोन आक्रमणबाट पावर प्लान्टमा रहेको एक जेनेरेटरमा आगो लागेको र त्यसलाई नियन्त्रणमा लिइएको जानकारी दिएको थियो ।
यस घटनामा कुनै पनि व्यक्ति घाइते नभएको र विकिरण सुरक्षा स्तरमा पनि कुनै असर नपरेको जनाइएको छ । साबधानीका अन्य सबै कदमहरू पनि अपनाइएको यूएईका अधिकारीहरुले बताएका छन् ।
हालै इरान र यूएईबीच तनाव बढेका बेला यूएईको पावर प्लान्टमा आक्रमण भएको हो । यूएईले शुक्रबार इरानले अमेरिका र इजरायलसँगको युद्धका क्रममा उसका नागरिक संरचनामा ३ हजार भन्दा बढी आक्रमण गरेको जनाएको थियो ।
यसैबीच, इरानी विदेशमन्त्री अब्बास अराघचीले यूएईमाथि आरोप लगाउँदै उसले इरानमाथि अमेरिका र इजरायलका आक्रमणमा सक्रिय भूमिका खेलेको बताएका छन् । उनको भनाइ अनुसार इरानले यूएईमा केवल सैन्य अड्डा तथा अमेरिका र इजरायलसँग सम्बन्धित संस्थाहरूलाई मात्र निशाना बनाएको थियो ।
आक्रमणको निन्दा
बीबीसीका अनुसार, यस घटनाप्रति अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सी ९आईएईए० ले गहिरो चिन्ता व्यक्त गर्दै आक्रमणको निन्दा समेत गरेको छ । आईएईएका महानिर्देशक राफेल ग्रोसीले यूएईका विदेशमन्त्री शेख अब्दुल्ला बिन जायेदसँग फोनवार्ता गर्दै उक्त आक्रमणको कडा निन्दा गरेका हुन् ।
बराकाह पावर प्लान्टमा आक्रमणपछि निस्किएको धुवाँ
आक्रमणको भारतले पनि निन्दा गरेको छ । भारतको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘यस्ता कार्यहरू अस्वीकार्य छन् र यसले तनाव बढाउने काम गर्छ । हामी तत्काल संयमता अपनाउन र संवाद तथा कूटनीतिक मार्गमा फर्कन आह्वान गर्छौं ।’
साउदी अरबले पनि यूएईको परमाणु ऊर्जा केन्द्रमा भएको ड्रोन आक्रमणको निन्दा गरेको छ । साउदी अरबले विज्ञप्ति जारी गर्दै, ‘उत्तेजनाबिनाको आतंकवादी कार्य’ भन्दै आलोचना गरेको छ र यसले क्षेत्रीय तनाव बढाउने चेतावनी दिएको छ ।
बराकाह पावर प्लान्ट किन महत्वपूर्ण छ ?
बराकाह आणविक पावर प्लान्ट यूएईको उत्तरपश्चिमी मरुभूमिमा, साउदी अरब र कतारको सीमासँग नजिक रहेको अल दफरा क्षेत्रमा पर्दछ । यो पावर प्लान्ट अमिरात्स न्यूक्लियर इनर्जी कर्पोरेसनको समूहले दक्षिण कोरियाली ऊर्जा कम्पनीसँग मिलेर निर्माण गरेको हो ।
यूएईको अमिरात्स न्यूक्लियर इनर्जी कम्पनीको वेबसाइट अनुसार, बराकाह प्लान्टका चार एपीआर–१४०० डिजाइनका परमाणु रिएक्टरहरूले वार्षिक ४० टेरावाट–घण्टा बिजुली उत्पादन गर्छन्, जुन यूएईको कुल बिजुली मागको करिब २५ प्रतिशत हो ।
यो प्लान्ट देशको ऊर्जा स्रोत विविधीकरण प्रयासको महत्वपूर्ण हिस्सा हो । यसले उद्योग, घर, व्यवसाय र सरकारी संरचनाहरूलाई स्वच्छ र प्रभावकारी ऊर्जा उपलब्ध गराउँदै देशको कार्बन उत्सर्जन घटाउन मद्दत गर्छ ।
वेबसाइटका अनुसार, बराकाह परमाणु ऊर्जा प्लान्टले वार्षिक करिब २।२४ करोड टन कार्बन उत्सर्जन रोक्छ, जुन करिब ४८ लाख गाडी सडकबाट हटाए बराबर हो ।