बालबालिकामा मानसिक स्वास्थ्यप्रति सकारात्मक सोच, आत्मविश्वास तथा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित “Comprehensive Sessions on Mental Health Awareness Program” वीरगञ्ज महानगरपालिका–बिश्वास्थित नवदीप एकेडेमी विद्यालयमा सम्पन्न भएको छ।
लायन्स क्लब अफ सेन्ट्रलसिटी र सानो पाइला संस्थाको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रममा नवदीप एकेडेमीको विशेष सहयोग रहेको थियो। कार्यक्रममा विद्यालयका कक्षा ३ र ४ मा अध्ययनरत विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको आयोजकले जनाएको छ।
कार्यक्रममा बालबालिकालाई मानसिक स्वास्थ्यका साथै ‘गुड टच’ र ‘ब्याड टच’ सम्बन्धी महत्वपूर्ण जानकारी दिइएको थियो। प्रशिक्षकहरूले बालबालिकालाई सुरक्षित र असुरक्षित व्यवहारबारे सहज र खुला रूपमा बुझाउँदै कुनै पनि असहज अवस्था आए तत्काल अभिभावक, शिक्षक वा विश्वासिला व्यक्तिलाई जानकारी गराउनुपर्ने सन्देश दिएका थिए। विद्यार्थीहरूले समेत खुलेर आफ्ना जिज्ञासा राखेका थिए।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा डिजी लायन राम बिहारी पाण्डेको उपस्थिति रहेको थियो भने लायन सुनिल कुमार गुप्ता, गुडी जोशी, दिगम्बर गुप्तालगायत समाजसेवी तथा लायन्सकर्मीहरूको सहभागिता रहेको थियो।
कार्यक्रमका अवसरमा लायन्स क्लब अफ सेन्ट्रलसिटीकी अध्यक्ष लायन सुशिला साहले प्रमुख अतिथि डिजी लायन राम बिहारी पाण्डेलाई फुलमाला, खादा, सम्मानपत्र तथा मायाको चिनो प्रदान गरी सम्मान गरेकी थिइन्।
मानसिक स्वास्थ्यसम्बन्धी प्रशिक्षण सानो पाइला संस्थाका राज कुमार तामाङ, काजल झा तथा रेखा कुर्मीले दिएका थिए। प्रशिक्षणका क्रममा बालबालिकालाई मानसिक स्वास्थ्यको महत्व, सकारात्मक सोच, आत्मसम्मान, भावनात्मक सन्तुलन तथा दैनिक जीवनमा अपनाउनुपर्ने व्यवहारिक पक्षबारे जानकारी गराइएको थियो।
प्रमुख अतिथि डिजी लायन राम बिहारी पाण्डेले बालबालिकाको मानसिक स्वास्थ्य र सुरक्षा आजको समाजको महत्वपूर्ण विषय भएको बताउँदै विद्यालयस्तरबाटै यस्ता सचेतनामूलक कार्यक्रम सञ्चालन हुनु सकारात्मक कदम भएको उल्लेख गरे। उनले बालबालिकालाई आत्मविश्वासी, सचेत र सुरक्षित बनाउन अभिभावक, विद्यालय र समाज सबैको साझा जिम्मेवारी रहेको धारणा राखे।
कार्यक्रममा वक्ताहरूले मानसिक स्वास्थ्यलाई समाजमा अझै पनि खुला रूपमा छलफल नगरिने विषयका रूपमा हेरिने भएकाले विद्यालय तहबाटै जनचेतना फैलाउन आवश्यक रहेको बताएका थिए। बालबालिकामा मानसिक रूपमा स्वस्थ, आत्मबलयुक्त र जिम्मेवार नागरिक बनाउने लक्ष्यका साथ यस्ता कार्यक्रम प्रभावकारी हुने उनीहरूको भनाइ थियो।
लायन्स क्लब अफ सेन्ट्रलसिटीकी अध्यक्ष लायन सुशिला साहको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन क्लबकी सचिव लायन कविता खड्काले गरेकी थिइन्।आयोजक संस्थाले आगामी दिनमा पनि विद्यालयस्तरमा यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइने जनाएको छ।