७ जेठ, काठमाडौँ । के एउटै व्यक्ति एकैसाथ बेरोजगार, अल्छी, चौबीसै घण्टा अनलाइन बसिरहने र जतिबेला पनि प्रणाली (सिस्टम) माथि गनगन गरिरहने हुन सक्छरु सामान्य अर्थमा यी सुन्दा अवगुण जस्ता लागे पनि छिमेकी मुलुक भारतमा यिनै ‘गुण र योग्यता’ भएका युवाहरूलाई लक्षित गर्दै एउटा अनौठो राजनीतिक दल स्थापना गरिएको छ, जसको नाम राखिएको छ – कक्रोच जनता पार्टी (सीजेपी)।
सुरुवाती चरणमा यसलाई कतिपयले डिजिटल प्लेटफर्मको एउटा फगत मजाक वा व्यङ्ग्यात्मक राजनीतिक प्रयोगका रूपमा लिएका थिए । तर, यसको बढ्दो क्रेजले अचेल भारतमा यसलाई एउटा नयाँ र वैकल्पिक राजनीतिक सङ्गठनका रूपमा समेत टिप्पणी गर्न थालिएको छ । सीजेपी आफैँले भने यसलाई “युवाका लागि, युवाहरूद्वारा बनाइएको युवाहरूकै विशुद्ध राजनीतिक मञ्च” भएको दाबी गरेको छ ।
यो अनौठो पार्टी स्थापना हुनुको पृष्ठभूमि पनि निकै रोचक छ । केही समयअघि भारतीय प्रधानन्यायाधीश सूर्यकान्तले देशका बेरोजगार युवाहरूलाई लक्षित गर्दै एउटा विवादास्पद अभिव्यक्ति दिएका थिए । उनले भनेका थिए, “केही युवाहरू कक्रोच ९साङ्ला० जस्तै हुन्छन् । जसले कतै जागिर पाउँदैनन्, उनीहरू मिडिया, सोसल मिडिया वा आरटीआई ९सूचनाको हक० अभियन्ता बनेर बस्छन् र सिस्टममाथि आक्रमण गरिरहन्छन्।”
प्रधानन्यायाधीशको उक्त ओछ्यानो टिप्पणीको चौतर्फी आलोचना भएपछि उनले आफ्नो भनाइलाई तोडमोड गरेर प्रस्तुत गरिएको भन्दै स्पष्टीकरण दिएका थिए । तर, युवाहरूले त्यसैलाई अवसरका रूपमा लिएर प्रधानन्यायाधीशको ‘कक्रोच’ उपमालाई नै आफ्नो पार्टीको नामकरण गरिदिए । सीजेपीका संस्थापक अभिजित दिपकेले प्रधानन्यायाधीशको स्पष्टीकरणमाथि रमाइलो पारामा जवाफ फर्काउँदै भनेका छन्, “कक्रोच जनता पार्टीको संस्थापक भएको नाताले म प्रधानन्यायाधीशको यो स्पष्टीकरणको कडा निन्दा गर्छु।”
को हुन् संस्थापक ?
सीजेपीका संस्थापक बोस्टन विश्वविद्यालयमा जनसम्पर्क (पब्लिक रिलेसन्स) पढिरहेका ३० वर्षीय विद्यार्थी अभिजित दिपके हुन् । भारतीय सञ्चारमाध्यम ‘द हिन्दु’ का अनुसार उनी राजनीतिमा नयाँ चेहरा भने होइनन् । उनी सन् २०२० देखि २०२३ सम्म अरविन्द केजरीवाल नेतृत्वको आम आदमी पार्टी ९आप० को सामाजिक सञ्जाल विभागमा स्वयंसेवीकाको रूपमा सक्रिय थिए । डिजिटल सञ्चारमा राम्रो दख्खल भएका दिपकेका कारण सामाजिक सञ्जाल ‘एक्स’ (ट्विटर) मा ४० हजार र इन्स्टाग्राममा ४ लाख २० हजारभन्दा बढी फलोअरहरू सीजेपीको अभियानमा जोडिइसकेका छन् ।
पार्टी खोल्नेबित्तिकै यसले भारतीय डिजिटल स्पेसमा तहल्का मच्चाएको छ । पार्टीले हालसम्म १ लाखभन्दा बढी युवाहरूले सदस्यता लिइसकेको दाबी गरेको छ । अनौठो त के छ भने, देशको स्थापित राजनीतिक दल तृणमूल काङ्ग्रेस (टीएमसी)का प्रखर सांसदद्वय महुआ मोइत्रा र कीर्ति आजादले समेत ठट्यौली शैलीमा आफूहरू पनि यस ‘कक्रोच जनता पार्टी’ मा आबद्ध हुन इच्छुक रहेको बताएका छन् ।
पार्टीका नेताहरूका अनुसार सीजेपी कुनै परम्परागत दल नभएर “वर्तमान सामाजिक तथा राजनीतिक व्यवस्था, बेरोजगारी र महँगीबाट निराश भएका आम सर्वसाधारण र युवाहरूको आक्रोश पोख्ने बलियो आवाज” हो । भारतको सुस्त रोजगारी बजार र युवाहरूको नैराश्यताका बीच जन्मिएको यो व्यङ्ग्यात्मक राजनीतिक दलले आगामी दिनमा कस्तो आकार लिन्छ, त्यो भने हेर्न बाँकी छ ।