७ जेठ, बारा । मोतिहारी–अम्लेखगञ्ज पेट्रोलियम पाइपलाइन पूर्ण रूपमा सञ्चालनमा आएसँगै नेपाल आयल निगमको प्रादेशिक डिपो अम्लेखगञ्जमा पेट्रोलको आयात ह्वात्तै बढेको छ । ट्याङ्कर ढुवानीको झन्झट हटेर पाइपलाइनबाट नियमित पेट्रोल आउन थालेपछि गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा पेट्रोलको आयात झन्डै दुई गुणा (दोब्बर) ले वृद्धि भएको हो ।
निगमको प्रादेशिक डिपो अम्लेखगञ्जका अनुसार गत आर्थिक वर्षमा १ लाख ८४ हजार किलोलिटर पेट्रोल आयात भएकोमा चालु आर्थिक वर्षमा त्यो परिमाण बढेर ४ लाख किलोलिटर पुगेको छ । डिजेलको आयातमा भने गत वर्षको तुलनामा सामान्य वृद्धि देखिएको छ। गत वर्ष ९ लाख किलोलिटर डिजेल आयात भएकोमा चालु वर्ष ९ लाख १५ हजार ६१३ किलोलिटर भित्रिएको छ ।
गत वर्षको फागुनदेखि पेट्रोल पनि पाइपलाइनबाटै ल्याउन थालिएको हो भने डिजेल २०७६ सालदेखि नै पाइपलाइनबाट आउने गरेको थियो। “यसअघि ट्याङ्करबाट स्थानीय बजारका लागि मात्रै पेट्रोल आयात हुन्थ्यो भने अहिले देशभरका ठुला शहरहरूको लागि यहीँबाट लोड भएर ढुवानी हुन्छ,” अम्लेखगञ्ज डिपो प्रमुख अशोक साहले भने, “पाइपलाइनका कारण गत वर्षको तुलनामा तेलको आयात र बिक्री वितरण निकै सुदृढ अवस्थामा छ।”
अम्लेखगञ्जबाट ७० किलोमिटर दुरीमा रहेको भारतको मोतिहारी डिपोबाट तेल छोडेको ४ दिनमा इन्धन अम्लेखगञ्ज आइपुग्छ । यसअघि भारतको बरौनीबाट ट्याङ्करमार्फत पेट्रोल ढुवानी हुने गरेकोमा अहिले ती ट्याङ्करलाई आन्तरिक ढुवानीमा व्यवस्थापन गरिएको छ। यहाँबाट थानकोट, पोखरा, भैरहवा, विराटनगर, जनकपुर र वीरगञ्जसहित देशभरका २० जिल्लाका सरकारी तथा निजी पम्पहरूमा इन्धन पठाइन्छ ।
पाइपलाइन प्रणाली लागू भएपछि नेपाल आयल निगम र राज्य दुवैलाई ठूलो आर्थिक एवं वातावरणीय लाभ मिलेको छ। ट्याङ्करबाट ढुवानी गर्दा हुने तेलको अवैध चोरी, प्राविधिक चुहावट, तस्करी, सडक दुर्घटना र वातावरण प्रदूषण सून्यमा झरेको छ । निगमका अनुसार पाइपलाइनका कारण ढुवानी खर्चमा प्रतिलिटर ३ रुपैयाँ बचत भइरहेको छ, जसले गर्दा ढुवानी भाडाबापत मात्रै राज्यको वार्षिक १ अर्ब रुपैयाँभन्दा बढी रकम जोगिएको छ ।
हाल अम्लेखगञ्ज डिपोमा पेट्रोल १७ हजार ७४७ किलोलिटर र डिजेल २५ हजार ८४३ किलोलिटर भण्डारण गर्ने क्षमता छ। यो क्षमताले पेट्रोल ४ देखि ५ दिन र डिजेल ६ देखि ७ दिनका लागि धान्न सक्छ ।
पाइपलाइनले आयातको ग्राफ बढाए पनि पछिल्लो समय बजारमा इन्धनको आन्तरिक खपत भने ओरालो लाग्न थालेको छ। अमेरिका र इरानबीच चर्किएको भू(राजनीतिक तनावका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य आकासिएपछि नेपालमा पनि इन्धनको उपभोग घटेको हो ।
विगतमा अम्लेखगञ्ज डिपोबाट दैनिक औसत ५ हजार किलोलिटर डिजेल र २ हजार किलोलिटर पेट्रोल बिक्री हुने गरेकामा अहिले त्यो परिमाण घटेर दैनिक औसत ३ हजार ५ सय किलोलिटर डिजेल र १ हजारदेखि १ हजार ५ सय किलोलिटर पेट्रोलमा खुम्चिएको छ ।
मूल्यवृद्धिको प्रत्यक्ष असर विकास निर्माणका आयोजनाहरूमा परेकाले निर्माण व्यवसायीले प्रयोग गर्ने मटीतेलको बिक्री पनि ह्वात्तै घटेको छ । निगमले अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा आयात परिमाण केही कम गर्ने रणनीति लिए पनि हाल आन्तरिक बजारमा इन्धनको कुनै अभाव नरहेको र पर्याप्त भण्डारण रहेको डिपो प्रमुख साहले प्रष्ट पारे