वीरगञ्ज - वीरगञ्ज महानगरपालिका वडा नम्बर ९ स्थित एभरेस्ट पब्लिक स्कुल ले आज स्वागत, सम्मान तथा दीक्षान्त समारोह भव्य रूपमा सम्पन्न गरेको छ।
कार्यक्रम विद्यालयकी प्रिन्सिपल नितु चौरसियाको सभापतित्वमा तथा निर्देशक डा. उमेश चौरसियाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। समारोहमा विद्यार्थीहरूलाई स्वागत, सम्मान तथा दीक्षान्त प्रदान गरिएको थियो।
प्रमुख अतिथि डा. चौरसियाले विद्यार्थीहरूलाई अब केवल किताबी ज्ञान मात्र पर्याप्त नभएको भन्दै व्यवहारिक ज्ञान पनि उत्तिकै आवश्यक रहेको बताए। उनले घरायसी कामदेखि दैनिक जीवनमा उपयोगी सीपहरू सिकाउन अभिभावकको भूमिकासमेत महत्वपूर्ण हुने उल्लेख गरे।
त्यसैगरी, विशिष्ट अतिथि तथा पत्रकार जगत राईले विद्यार्थीहरूले व्यवहारिक ज्ञानलाई समाजमा उतार्न सक्नुपर्नेमा जोड दिए। उनले असल विद्यार्थी नै समाज र राष्ट्रको असल नागरिक बन्ने आधार भएको उल्लेख गर्दै गलत गतिविधिबाट टाढा रहन विद्यार्थीलाई सुझाव दिए।
कार्यक्रममा नर्सरीदेखि कक्षा ९ सम्मका प्रथम विद्यार्थीहरूलाई सम्मान गरिएको थियो। साथै विद्यार्थीहरूले विभिन्न सांस्कृतिक नृत्य प्रस्तुत गर्दै कार्यक्रमलाई झनै आकर्षक बनाएका थिए।
विद्यालयका सञ्चालक डा. उमेश शाहले विद्यालयले समाजलाई सक्षम र जिम्मेवार नागरिक उत्पादन गर्ने लक्ष्यसहित अघि बढिरहेको बताए।
कार्यक्रममा शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।