८ जेठ,काठमाडौं । नेपाल मेडिकल काउन्सिलले गैरकानुनी रूपमा ‘डा.’ वा ‘चिकित्सक’ उपाधि प्रयोग गर्ने व्यक्तिविरुद्ध कडा कारबाही गर्ने चेतावनी दिएको छ। काउन्सिलले बिहीबार अत्यन्त जरुरी सूचना जारी गर्दै ‘जिरो टोलरेन्स’ नीति अपनाएर अवैध रूपमा डाक्टर उपाधि प्रयोग गर्नेहरूमाथि कानुनी प्रक्रिया अघि बढाइने जनाएको हो।
काउन्सिलका अनुसार मेडिकल काउन्सिल वा सम्बन्धित परिषद्मा कानुनी रूपमा दर्ता नभई नामको अगाडि ‘डा।’ वा ‘चिकित्सक’ लेख्ने, बिरामी जाँच्ने, परामर्श दिने तथा औषधि सिफारिस गर्ने कार्यले जनस्वास्थ्यमा प्रतिकूल असर परेको छ।
सूचनामा विभिन्न अस्पताल, निजी क्लिनिक, परामर्श केन्द्र तथा सामाजिक सञ्जालमार्फत गैर चिकित्सक स्वास्थ्यकर्मी तथा अन्य असम्बन्धित व्यक्तिहरूले अनाधिकृत रूपमा ‘डा।’ उपाधि प्रयोग गरिरहेको उल्लेख गरिएको छ।
नेपाल मेडिकल काउन्सिल ऐन, २०२० अनुसार आधुनिक चिकित्सा प्रणाली अन्तर्गत बिरामीको परीक्षण, उपचार, परामर्श तथा एलोप्याथिक औषधि सिफारिस गर्ने अधिकार काउन्सिलमा दर्ता भएका चिकित्सकलाई मात्रै रहेको काउन्सिलले स्पष्ट पारेको छ।
काउन्सिलले सम्बन्धित परिषद् ऐनद्वारा चिकित्सक उपाधि प्राप्त गरेका बाहेक अन्य व्यक्तिले नामअघि ‘डा.’ प्रयोग गरेको पाइएमा १५ दिनभित्र हटाउन निर्देशन दिएको छ। साथै साइनबोर्ड, प्रेस्क्रिप्सन प्याड, भिजिटिङ कार्ड तथा फेसबुक, टिकटक, इन्स्टाग्रामलगायत सामाजिक सञ्जालबाट समेत उक्त उपाधि हटाउन भनिएको छ।
काउन्सिलका निमित्त रजिष्ट्रार डा. दीपेन्द्र पाण्डेका अनुसार १५ दिनको समयसीमा सकिएपछि विशेष अनुगमन टोलीले स्थलगत तथा डिजिटल माध्यमबाट निगरानी गर्नेछ।
काउन्सिलले विदेशी वा स्वदेशी विश्वविद्यालयको प्रमाणपत्रमा ‘डाक्टर’ उल्लेख भएकै आधारमा नेपालमा स्वतन्त्र रूपमा चिकित्सकीय अभ्यास गर्न नपाइने पनि स्पष्ट पारेको छ।
अवैध रूपमा ‘डा।’ उपाधि प्रयोग गरेको वा सो उपाधिको आडमा बिरामी जाँच्ने तथा औषधि सिफारिस गरेको पाइएमा नेपाल मेडिकल काउन्सिल ऐन, २०२० को दफा २६ र २७ अनुसार मुद्दा चलाइने जनाइएको छ। ऐनअनुसार दोषी ठहरिएमा तीन वर्षसम्म कैद, तीन हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने काउन्सिलले जनाएको छ।