वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–९ स्थित जीवनज्योति बोर्डिङ स्कुल मा विद्यार्थी नेतृत्व विकासलाई प्रोत्साहन गर्ने उद्देश्यले हेड ब्वाय, हेड गर्ल, हाउस क्याप्टेन तथा खेलकुद संयोजक पदका लागि निर्वाचन सम्पन्न गरिएको छ।
विद्यालयले हरेक वर्ष सञ्चालन गर्दै आएको लोकतान्त्रिक निर्वाचन प्रणालीलाई यस वर्ष पनि निरन्तरता दिँदै कक्षा ५ देखि १० सम्मका विद्यार्थीहरूले मतदानमार्फत आफ्ना प्रतिनिधि चयन गरेका हुन्।
विद्यालयका सञ्चालक एवं प्रिन्सिपल शिवजीप्रसाद गुप्ता ले विद्यार्थीहरूमा नेतृत्व क्षमता, अनुशासन र जिम्मेवारीबोध विकास गर्ने उद्देश्यले विद्यालयस्तरमै लोकतान्त्रिक अभ्यास गराइएको बताए।
उनका अनुसार निर्वाचनमार्फत चयन भएका हेड ब्वाय, हेड गर्ल, हाउस क्याप्टेन तथा खेलकुद संयोजकहरूले विद्यालयको अनुशासन कायम राख्नुका साथै अतिरिक्त क्रियाकलाप र खेलकुद गतिविधिलाई व्यवस्थित बनाउन सहपाठीहरूलाई नेतृत्व दिनेछन्।
“विद्यालयस्तरमै निर्वाचन प्रक्रियामा सहभागी हुँदा विद्यार्थीहरूले नेतृत्व कसरी सञ्चालन गर्ने, जिम्मेवारी कसरी निर्वाह गर्ने र अनुशासनको महत्व के हो भन्ने व्यवहारिक अनुभव प्राप्त गर्छन्,” प्रिन्सिपल गुप्ताले बताए।
निर्वाचनमा विद्यार्थीहरूले शान्तिपूर्ण तथा अनुशासित रूपमा लामबद्ध भएर मतदान गरेका थिए। निर्वाचनबाट विजयी भएका पदाधिकारीहरूलाई विद्यालयले विशेष समारोह आयोजना गरी सपथ ग्रहण गराउने तयारी गरेको विद्यालयका सञ्चालक निखिल गुप्ता ले जानकारी दिए।
कार्यक्रममा विद्यालयकी सञ्चालिका मिनाक्षी गुप्ता, शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण उज्ज्वल घिमिरेले गरेका थिए।