वीरगञ्ज । लायन्स क्लब बीरगन्ज सेन्टर पर्साको आयोजनामा वीरगञ्जको घण्टाघर क्षेत्रमा सर्वसाधारण तथा बटुवाहरूलाई चिसो जल (सर्बत पानी) वितरण गरिएको छ।
जीवन ज्योति सेकेन्डरी बोर्डिङ स्कुलकी सञ्चालिका तथा लायन्स क्लब बीरगन्ज सेन्टरकी लायन मिनाक्षी गुप्ताको नेतृत्वमा आयोजित कार्यक्रममा गर्मीका कारण प्रभावित सर्वसाधारणलाई चिसो जल वितरण गरिएको हो।
वीरगञ्जमा पछिल्ला केही दिनदेखि अत्यधिक गर्मी बढ्दै गएपछि सडकमा आवतजावत गर्ने सर्वसाधारण, दैनिक ज्यालादारी मजदुर, ज्येष्ठ नागरिक तथा बालबालिकालाई राहत मिलोस् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको लायन मिनाक्षी गुप्ताले बताइन्।
उनका अनुसार जीवन ज्योति स्कुलका विद्यार्थीहरूले सडकमा हिँडिरहेका बटुवालाई रोकेर चिसो सर्बत पानी पिलाउने कार्य गरेका थिए। “मानवताकै धर्म निभाउने उद्देश्यले यो सेवा कार्यक्रम सञ्चालन गरिएको हो,” उनले भनिन्।
कार्यक्रमप्रति सर्वसाधारणले सकारात्मक प्रतिक्रिया दिएका छन्। गर्मीका कारण हैरान भएका नागरिकहरूले स्वयं आएर चिसो जल सेवन गरेको र यस्ता सामाजिक सेवामूलक कार्यक्रमले राहत महसुस गराएको आयोजकले जनाएको छ।
चिसो जल वितरण कार्यक्रममा लायन रेखा वैद्य, मीरा खेतान, संगीता खेतान, सुन्दरी आमात्य, कविता हलान, रमिन्द्र कर, सीता अग्रवाल, आशा अग्रवाल, जीवन ज्योति स्कुलका सञ्चालक निखिल गुप्ता लगायत विद्यार्थी तथा समाजसेवीहरूको उपस्थिति रहेको थियो।