काठमाडौँ– संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको स्मरणमा आज देशभर विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाइँदैछ । दिवसका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।
जननिर्वाचित पहिलो संविधानसभाले २०६५ जेठ १५ गते राजसंस्थाको अन्त्य गर्दै नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको दिनको सम्झनामा हरेक वर्ष गणतन्त्र दिवस मनाइँदै आएको हो ।
दिवसका अवसरमा सैनिक मञ्च टुँडीखेलमा विशेष समारोह आयोजना गरिएको छ । समारोहअघि नेपाली सेनाले गणतन्त्र दिवसको स्वागतमा तोप पड्काएको थियो । बिहान ८ बजेदेखि सुरु हुने कार्यक्रममा राष्ट्रपति, प्रधानमन्त्रीसहित विभिन्न विशिष्ट व्यक्तित्वको सहभागिता रहनेछ ।
अघिल्ला वर्षहरूमा गणतन्त्र दिवस समारोहलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा रहे पनि यस वर्ष भने राष्ट्रपतिले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री बालेनले गणतन्त्रको प्रतीक राष्ट्रपतिलाई नै सम्बोधन गर्न अनुरोध गर्दै शीतल निवासमा पत्र पठाएका थिए । प्रधानमन्त्रीको सचिवालयका अनुसार उनी समारोहमा सहभागी हुने भए पनि सम्बोधन भने गर्ने छैनन् ।
नेपालमा गणतन्त्र स्थापनाको आन्दोलन २०६१ माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले शासन सत्ता आफ्नो हातमा लिएपछि थप तीव्र बनेको थियो । त्यसपछि आन्दोलनरत सात दल र तत्कालीन नेकपा माओवादीबीच १२ बुँदे समझदारी भएको थियो ।
२०६२ सालको जनआन्दोलनपछि पुनःस्थापित संसद्ले २०६३ जेठ ४ गते राजसंस्थाको अधिकार कटौती गर्दै राजसंस्थालाई निलम्बन गरेको थियो । त्यसपछि संविधानसभा निर्वाचनमार्फत नयाँ राजनीतिक व्यवस्था संस्थागत गर्ने प्रक्रिया अघि बढेको थियो ।
२०६४ चैत २८ गते सम्पन्न पहिलो संविधानसभा निर्वाचनपछि २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले राजसंस्थाको विधिवत् अन्त्य गर्दै नेपाललाई गणतन्त्र घोषणा गरेको थियो । त्यसपछि दोस्रो संविधानसभाबाट २०७२ असोज ३ गते नेपालको संविधान जारी भएको हो ।
संविधान कार्यान्वयनसँगै संघीय, प्रादेशिक र स्थानीय तहका सरकार गठन भई मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीअनुसार सञ्चालन हुँदै आएको छ ।