काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाकी उपसभामुख रुवी कुमारीले गणतन्त्र दिवस, २०८३ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेकी छन्।
गणतन्त्र दिवसको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै उनले लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञात-अज्ञात सहिदप्रति भावपूर्ण श्रद्धाञ्जली समेत अर्पण गरेकी छन्। उनले लोकतन्त्र प्राप्तिको आन्दोलनमा होमिएर जेल-नेल तथा विभिन्न यातना भोगेर देशका लागि योगदान गर्ने सम्पूर्ण योद्धाप्रति उच्च सम्मान व्यक्त गरेकी छन्।
नेपालको इतिहास सङ्घर्ष, बलिदान र परिवर्तनको इतिहास भएको उल्लेख गर्दै उपसभामुखले नेपाली जनताले लामो समयसम्म निरङ्कुश शासन, अन्याय, अत्याचार र असमानताको सामना गर्दै लोकतन्त्र, स्वतन्त्रता र जनअधिकारका लागि निरन्तर सङ्घर्ष गर्नुपरेको स्मरण गराएकी छन्। अनेक आन्दोलन, त्याग र बलिदानपछि वि। सं। २०६५ साल जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र राष्ट्र घोषणा गरिएको उल्लेख गर्दै उनले त्यो दिन केवल शासन व्यवस्थाको परिवर्तन मात्र नभएर नेपाली जनताको सार्वभौम अधिकार स्थापित भएको ऐतिहासिक दिन रहेको बताएकी छन्।
गणतन्त्र भनेको जनताले आफ्ना प्रतिनिधि आफैं चयन गर्ने र राज्य सञ्चालनमा प्रत्यक्ष सहभागिता जनाउने व्यवस्था भएको स्पष्ट पार्दै उनले यस व्यवस्थाले प्रत्येक नागरिकलाई समान अधिकार, स्वतन्त्रता, न्याय र अवसरको प्रत्याभूति दिलाउने बताएकी छन्। देशका हरेक नागरिकले सम्मानपूर्वक बाँच्न पाउने वातावरण निर्माण भएमा मात्र गणतन्त्रको वास्तविक अर्थ पूरा हुने उनको भनाइ छ।
गणतन्त्र प्राप्त गर्नु मात्र ठुलो उपलब्धि नभएर यसको संरक्षण र सुदृढीकरण गर्नु अझ ठुलो जिम्मेवारी भएको कुरामा उनले जोड दिएकी छन्। आज पनि देशले बेरोजगारी, गरिबी, भ्रष्टाचार तथा विकास निर्माणका विभिन्न चुनौतीहरू सामना गरिरहेको तर्फ ध्यानाकर्षण गराउँदै उनले यस्ता चुनौतीहरूलाई पार गर्न सबै नागरिक जिम्मेवार, अनुशासित र कर्तव्यनिष्ठ हुन आवश्यक रहेको बताएकी छन्। विशेष गरी युवा (जेन) पुस्ताले देश निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने उल्लेख गर्दै उनले शिक्षा, सिप, प्रविधि र सकारात्मक सोचमार्फत देशलाई समृद्ध बनाउने दायित्व युवाहरूको काँधमा आएको उल्लेख गरेकी छन्।
आजको दिन विगतका सङ्घर्ष र बलिदानलाई सम्झँदै राष्ट्रिय एकता, आपसी सद्भाव, सहकार्य, विकास र सुशासनप्रतिको प्रतिबद्धतालाई अझ बलियो बनाउनुपर्नेमा उनले जोड दिएकी छन्। जात, धर्म, भाषा, क्षेत्र वा वर्गभन्दा माथि उठेर ‘हामी सबै नेपाली हौँ’ भन्ने भावना विकास गर्नु आजको मुख्य आवश्यकता रहेको उनको भनाइ छ। उपसभामुखले सहिदहरूको सपनाअनुसार समुन्नत, समृद्ध र सुन्दर नेपाल निर्माण गर्न सबै एकजुट भएर अगाडि बढ्न आह्वान गर्दै सम्पूर्ण नेपालीको उज्ज्वल भविष्यको कामना गरेकी छन्।