वीरगञ्ज– वीरगञ्ज महानगरपालिका–१० स्थित लिटिल एन्जल बोर्डिङ स्कुलले गणतन्त्र दिवसको अवसरमा विभिन्न शैक्षिक तथा सचेतनामूलक कार्यक्रम आयोजना गरी दिवस भव्य रूपमा मनाएको छ।
विद्यालयका प्रिन्सिपल सन्नी पाख्रिङका अनुसार गणतन्त्र दिवसको महत्व, नेपालमा गणतन्त्र स्थापना हुने प्रक्रिया तथा सार्वजनिक बिदाको औचित्यबारे विद्यार्थीहरूलाई जानकारी गराउने उद्देश्यले विशेष कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा विद्यार्थीहरूले “गणतन्त्र के हो ?”, “नेपालमा गणतन्त्र कसरी आयो ?” लगायत विषयमा वक्तृत्व कला प्रस्तुत गर्दै आफ्ना धारणा राखेका थिए।
प्रिन्सिपल पाख्रिङले सार्वजनिक बिदाको अवसरलाई केवल विश्रामका रूपमा नभई ऐतिहासिक तथा राष्ट्रिय महत्वका विषयबारे विद्यार्थीलाई शिक्षित बनाउने अवसरका रूपमा उपयोग गर्नुपर्ने बताए। उनका अनुसार यस्ता कार्यक्रमले विद्यार्थीहरूको बौद्धिक क्षमता, नेतृत्व विकास तथा इतिहासप्रतिको बुझाइ अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने गर्दछ।
“विद्यार्थीहरूलाई किताबी ज्ञान मात्र पर्याप्त हुँदैन। अतिरिक्त क्रियाकलापमार्फत उनीहरूलाई राष्ट्रिय इतिहास, लोकतान्त्रिक मूल्य–मान्यता र सार्वजनिक बिदाको महत्वबारे जानकारी गराउनु आवश्यक छ,” उनले भने।
उनले सरकारले दिएको सार्वजनिक बिदाको वास्तविक अर्थ र महत्वबारे विद्यार्थीहरूलाई जानकारी गराउन विद्यालयहरूको पनि महत्वपूर्ण दायित्व रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताए।
गुणस्तरीय शिक्षासँगै अतिरिक्त क्रियाकलापमा समेत विद्यार्थीहरूको सक्रिय सहभागिता सुनिश्चित गर्दै आएको लिटिल एन्जल बोर्डिङ स्कुलले वीरगञ्जमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल हुँदै आएको विद्यालय प्रशासनले जनाएको छ।