राष्ट्रिय एकता दल वीरगन्जको आयोजनामा ‘हिन्दू राष्ट्र र संविधान संशोधनको बहस’ विषयक विचार गोष्ठी तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।दलका पर्सा जिल्ला अध्यक्ष विकाऊ भण्डारी थारूको अध्यक्षतामा आयोजित कार्यक्रममा राष्ट्रिय एकता दलका केन्द्रीय अध्यक्ष विनय यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
कार्यक्रममा वक्ताहरूले वर्तमान संविधानले देशको ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक पहिचानलाई पर्याप्त रूपमा सम्बोधन गर्न नसकेको धारणा व्यक्त गर्दै संविधान संशोधनमार्फत नेपाललाई पुनः हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने आवश्यकता औंल्याएका थिए।
छलफलका क्रममा दलका नेताहरू अकलेश कुशवाहा, रामनाथ यादव, अवधेश साह, मनोज सिंह, देव बाबु प्रसाद कुर्मी, कृष्ण मोहन सहनी तथा रवीन्द्र यादवले आ–आफ्नो धारणा राख्दै राष्ट्रिय एकता, सांस्कृतिक संरक्षण तथा सामाजिक सद्भाव कायम राख्न हिन्दू राष्ट्रको अवधारणामाथि गम्भीर बहस हुनुपर्ने बताएका थिए।
उनीहरूले संविधान संशोधनका विषयमा व्यापक जनबहस आवश्यक रहेको उल्लेख गर्दै जनभावनाअनुसार राजनीतिक नेतृत्वले निर्णय लिनुपर्ने धारणा व्यक्त गरे।
युवा नेता विवेक कुशवाहाले सञ्चालन गर्नुभएको कार्यक्रममा विभिन्न क्षेत्रका बुद्धिजीवी, नागरिक समाजका प्रतिनिधि, राजनीतिक कार्यकर्ता तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ।