वीरगञ्ज— वीरगञ्ज महानगरपालिका–१०, आदर्शनगरस्थित आदर्श स्कुलमा अध्ययनरत मन्टेश्वरी तह उत्तीर्ण गरेका विद्यार्थीहरूको दीक्षान्त समारोह शनिबार (हिजो) भव्य रूपमा सम्पन्न भएको छ।
आदर्श स्कुलका प्रिन्सिपल रामविनोद पण्डितको सभापतित्व तथा मानवसेवा आश्रमका केन्द्रीय सदस्य देवेश मानवको प्रमुख आतिथ्यमा आयोजित समारोहमा विद्यार्थी, अभिभावक, शिक्षक–शिक्षिका तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि देवेश मानवले विद्यार्थीको उज्ज्वल भविष्य निर्माणमा अभिभावक, शिक्षक–शिक्षिका तथा समाजको महत्वपूर्ण भूमिका रहने बताउनुभयो। उहाँले अतिरिक्त क्रियाकलापहरूले बालबालिकाको व्यक्तित्व विकासमा सकारात्मक प्रभाव पार्ने उल्लेख गर्दै शान्त, सुरक्षित र प्रेरणादायी वातावरणमा हुर्किएका बालबालिकाले आफ्नो लक्ष्य हासिल गर्न सक्ने धारणा व्यक्त गर्नुभयो।
उहाँले समाजमा सकारात्मक परिवर्तन आएमा बालबालिकाको भविष्य अझ उज्ज्वल बन्ने बताउँदै गुणस्तरीय शिक्षा र उचित संस्कारले उनीहरूलाई सफल जीवनतर्फ अग्रसर गराउने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै आदर्श स्कुलका सञ्चालक हरिरत्न तुलाधरले विद्यालयले गुणस्तरीय शिक्षासँगै विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि विभिन्न अतिरिक्त क्रियाकलापहरूमा पनि विशेष ध्यान दिँदै आएको जानकारी दिनुभयो। उहाँले विद्यार्थीहरूलाई सक्षम, आत्मविश्वासी तथा नेतृत्वदायी भूमिकामा स्थापित गर्ने उद्देश्यका साथ विद्यालय अघि बढिरहेको बताउँदै अभिभावकहरूलाई पनि सोही अनुरूप सहयोग गर्न आग्रह गर्नुभयो।
दीक्षान्त समारोहका अवसरमा विद्यार्थीहरूले आकर्षक नृत्य तथा विविध सांस्कृतिक प्रस्तुति दिएका थिए। कार्यक्रममा प्रस्तुत गरिएका सांस्कृतिक कार्यक्रमहरूले उपस्थित अभिभावक तथा अतिथिहरूको मन जित्न सफल भएका थिए।
कार्यक्रमको सहजीकरण शिक्षिकाहरू सिम्रन गुप्ता र पूजा गुप्ता तथा विद्यार्थीहरू सजिया, प्रवीण र अनुज मिश्राले संयुक्त रूपमा गरेका थिए।
उत्साहपूर्ण वातावरणमा सम्पन्न दीक्षान्त समारोहले मन्टेश्वरी तह पूरा गरेका विद्यार्थीहरूको शैक्षिक यात्राको एउटा महत्वपूर्ण उपलब्धिलाई औपचारिक रूपमा उत्सवका रूपमा मनाएको विद्यालयले जनाएको छ।