वीरगञ्ज, जेठ २० — विश्व वातावरण दिवस २०८३ को अवसरमा प्रकृति सेवा प्रतिष्ठान, नेपालले जीवन ज्योति स्कुलको सहकार्यमा सप्ताहव्यापी कार्यक्रमअन्तर्गत चौथो दिन बुधबार जनचेतनामूलक साइकल र्याली आयोजना गरेको छ।
प्रतिष्ठानका संस्थापक अध्यक्ष सरदार जसपाल सिंहको नेतृत्वमा आयोजित र्यालीमा जिल्ला ट्राफिक कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक युवराज कटुवाल, जीवन ज्योति स्कुलका प्रधानाध्यापक शिव गुप्ता, समाजसेवी भगवान श्रेष्ठ, वीरगञ्ज कपडा बैंकका अध्यक्ष तथा सञ्चारकर्मी लालबाबु सिंह, युवा अभियन्ता दिलिप कार्की, प्रतिष्ठानका सहसचिव अविनाश झा, सदस्यहरू भोला प्रसाद, रुपनारायण सिंह, केदार गुप्ता, सञ्चारकर्मी आकाश पटेल, रानिघाट प्रहरी पोस्टका प्रहरी कर्मचारी, शिक्षक तथा कक्षा ९ र १० का करिब ५० विद्यार्थीहरूको सहभागिता रहेको थियो।
र्याली वीरगञ्ज महानगरपालिका–९ रानिघाटस्थित जीवन ज्योति स्कुलबाट सुरु भई घण्टाघर, बसपार्क, बाइपास रोड हुँदै नगवा पुगेको थियो। त्यसपछि पश्चिमतर्फ रेशमकोठी, मेनरोड, कैलाश होटल चोक, घडिअर्वा पोखरी, माइस्थान र पुनः घण्टाघर हुँदै स्कुल परिसरमा पुगेर समापन गरिएको थियो।
कार्यक्रमको उद्घाटन जीवन ज्योति स्कुलका प्रधानाध्यापक शिव गुप्ताले हरियो झण्डा देखाएर गरेका थिए। सो अवसरमा प्रहरी निरीक्षक युवराज कटुवालले वातावरणले मानव जीवनलाई जन्मदेखि मृत्युसम्म आवश्यक हावा, पानी, अन्न, फलफूल, वनस्पति तथा जडीबुटीजस्ता जीवनदायी स्रोतहरू निःशुल्क उपलब्ध गराउँदै आएको उल्लेख गर्दै यसको संरक्षण, संवर्द्धन र सम्मान गर्नु सबैको दायित्व भएको बताए। उनले ट्राफिक नियमको पालना गर्न आग्रह गर्दै विद्यार्थीहरूको उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेका थिए।

प्रतिष्ठानका अध्यक्ष सरदार जसपाल सिंहले “हरियो, सफा र स्वस्थ वीरगञ्ज”, “प्लास्टिक झोला तथा प्रदूषणमुक्त वीरगञ्ज” र “धरती बचाऔँ, वातावरण जोगाऔँ” भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै प्रतिष्ठानले प्रत्येक वर्ष वातावरण संरक्षणसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको बताए। उनले विगत तीन दिनदेखि सरसफाइ तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको र चौथो दिन साइकल र्यालीमार्फत वातावरण संरक्षणको सन्देश प्रवाह गरिएको जानकारी दिए।
सिंहले वातावरण संरक्षणप्रति नागरिकको जिम्मेवारीबोध गराउन यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताउँदै सहभागी विद्यार्थी, शिक्षक, विद्यालय प्रशासन तथा प्रतिष्ठानका पदाधिकारी एवं सदस्यहरूप्रति आभार व्यक्त गरे।