वीरगञ्ज– मधेस प्रदेशमा करिब १६ प्रतिशत बालबालिकामा कुपोषणको समस्या देखिएको तथ्यांक सार्वजनिक भएको छ। स्वास्थ्य निर्देशनालय, मधेस प्रदेशले सञ्चालन गरेको पोषण अवस्थाको परीक्षण अभियानले प्रदेशमा बाल कुपोषण अझै गम्भीर चुनौतीका रूपमा रहेको देखाएको हो।
मिथिला नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अशोक भण्डारीका अनुसार अभियानअन्तर्गत गरिएको परीक्षणबाट मधेस प्रदेशका बालबालिकामाझ कुपोषणको अवस्था चिन्ताजनक रहेको तथ्य उजागर भएको छ।
स्वास्थ्य निर्देशनालयले प्रदेशका १३६ स्थानीय तहमध्ये १३३ स्थानीय तहमा सञ्चालन गरेको परीक्षण अभियानमा दुई लाख ८३ हजार ३०८ बालबालिकाको स्वास्थ्य अवस्था मूल्याङ्कन गरिएको थियो। परीक्षणमा ३५ हजार ८८३ जना बालबालिका कुपोषित, ८ हजार ७७१ जना शीघ्र कुपोषणको जोखिममा तथा २ लाख ३३ हजार १८२ जना सामान्य अवस्थामा रहेको पाइएको छ।
तथ्यांकअनुसार कुपोषित र शीघ्र कुपोषित बालबालिकाको कुल संख्या ४४ हजार ६५४ पुगेको छ, जुन परीक्षण गरिएका बालबालिकाको १५.७६ प्रतिशत हो। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को मापदण्डअनुसार यस्तो अवस्था संकटपूर्ण मानिन्छ।
मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरिबी, अशिक्षा, पोषणसम्बन्धी चेतनाको कमी, सरसफाइको अभाव तथा असन्तुलित खानपानका कारण प्रदेशमा कुपोषणको समस्या जटिल बन्दै गएको बताए।
यस्तै, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय मधेस प्रदेशका प्रदेश सचिव डा। प्रमोद यादवले कृषि उत्पादनका हिसाबले समृद्ध मानिने प्रदेशमा समेत बाल कुपोषणको उच्च दर देखिनु गम्भीर चिन्ताको विषय भएको उल्लेख गरे।
नेपालमा जन्मिने कुल बालबालिकामध्ये करिब २९ प्रतिशत मधेस प्रदेशमा जन्मिने तथा देशको कुल जनसंख्याको झण्डै २२ प्रतिशत हिस्सा मधेस प्रदेशमा बसोबास गर्ने भएकाले यहाँको पोषण अवस्था सुधार गर्नु राष्ट्रिय प्राथमिकताको विषय बनेको सरोकारवालाहरूले बताएका छन्।