२२ जेठ, काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल तीन दिने औपचारिक भ्रमणका लागि आज (शुक्रबार) छिमेकी मुलुक भारत प्रस्थान गर्दैछन्। आफ्ना भारतीय समकक्षी एवं विदेशमन्त्री एस जयशङ्करको मैत्रीपूर्ण निमन्त्रणामा मन्त्री खनाल नयाँ दिल्ली जान लागेका हुन् ।
परराष्ट्र मन्त्रालयले बिहीबार एक आधिकारिक विज्ञप्ति जारी गर्दै मन्त्री खनालको यो औपचारिक भ्रमण शुक्रबार (आज) देखि सुरु भई आगामी आइतबार टुङ्गिने जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको भारत भ्रमण लगत्तै तय भएको परराष्ट्रमन्त्रीको यस भ्रमणलाई राजनीतिक तथा कूटनीतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ।
भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालले नयाँ दिल्लीमा भारतीय विदेशमन्त्री जयशङ्करसँग द्विपक्षीय हित र सरोकारका विविध विषयमा औपचारिक भेटवार्ता तथा प्रतिनिधिमण्डलस्तरीय समीक्षा बैठक गर्ने कार्यसूची रहेको छ । सो अवसरमा दुई देशबीच लामो समयदेखि थाती रहेका प्राविधिक तथा नीतिगत विषयहरूलाई निकास दिनेबारे कूटनीतिक संवाद हुनेछ ।
मन्त्रालयका अनुसार यस पटकको उच्चस्तरीय वार्तामा नेपाल र भारतबीचका प्रमुख प्राथमिकताप्राप्त क्षेत्रहरूमा सहयोग विस्तार गर्ने उद्देश्य राखिएको छ । जसअनुसार दुई देशबीचको व्यापार प्रवद्र्धन, भारतीय लगानी आकर्षण, अन्तरदेशीय कनेक्टिभिटी (सम्पर्क सञ्जाल) ऊर्जा व्यापार (बिजुली निर्यात र प्रसारण लाइन विस्तार) तथा जनस्तरको सम्बन्ध (प्रबुद्ध वर्ग र सांस्कृतिक आदानप्रदान) लगायतका समग्र विषयमा गहन छलफल हुनेछ ।
नेपाल र भारतबीच भएका पुराना सम्झौताहरूको कार्यान्वयनको अवस्था र नयाँ सम्भावित साझेदारीका आयोजनाहरूको ‘चेकलिस्ट’ बनाएर काम गर्ने दुवै पक्षको तयारी छ ।
नेपाल र भारतबीच विगतदेखि हुँदै आएको उच्चस्तरीय भ्रमणको नियमित आदानप्रदान अन्तर्गत नै मन्त्री खनालको यो भ्रमण हुन लागेको हो । यस भ्रमणले नेपाल र भारतबिचको ऐतिहासिक, दीर्घकालीन तथा बहुआयामिक द्विपक्षीय सम्बन्धलाई समयसापेक्ष परिमार्जन गर्दै थप सुदृढ र प्रगाढ बनाउने अपेक्षा परराष्ट्र मन्त्रालयले लिएको छ ।
भारतीय उच्च नेतृत्वसँगको महत्वपूर्ण भेटघाट र द्विपक्षीय संवादहरू पूरा गरी परराष्ट्रमन्त्री खनाल आगामी जेठ २४ गते आइतबार स्वदेश फर्किने कार्यसूची रहेको छ ।