वीरगञ्ज– वीरगञ्ज महानगरपालिका–२४ स्थित गुगल एकेडेमी बोर्डिङ स्कुलमा विद्यार्थी नेतृत्व विकास तथा जिम्मेवारीबोध अभिवृद्धि गर्ने उद्देश्यले इन्भेस्टिचर (पदभार ग्रहण) समारोह भव्य रूपमा सम्पन्न भएको छ।
विद्यालयका कोर्डिनेटर शान्तिकुमार लामाका अनुसार विद्यार्थीहरूमा नेतृत्व क्षमता, अनुशासन तथा जिम्मेवारीबोधको विकास गराउने उद्देश्यले विभिन्न नेतृत्वदायी पदहरूमा चयन भएका विद्यार्थीहरूलाई औपचारिक रूपमा जिम्मेवारी प्रदान गरिएको हो।
समारोहका प्रमुख अतिथि वीरगञ्ज महानगरपालिका वडा नं. २४ का वडाध्यक्ष विजय कुर्मीले नवनियुक्त हेड ब्वाई, हेड गर्ल, सहायक हेड ब्वाई, सहायक हेड गर्ल, हाउस कप्तान, उपकप्तान, खेलकुद कप्तान तथा अन्य जिम्मेवारी प्राप्त विद्यार्थीहरूलाई ब्याच वितरण गरेका थिए। सो अवसरमा उनले पद प्राप्त गर्नु मात्र महत्वपूर्ण नभई त्यसको जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्नु अझ महत्वपूर्ण रहेको बताए।
विद्यालयका प्रिन्सिपल नरेश राउत कुर्मीको सभापतित्वमा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथि तथा एन–प्याब्सन महानगर अध्यक्ष जियालाल शाहले विद्यालयमा नेतृत्व विकासको महत्वबारे प्रकाश पार्दै शपथ ग्रहणले विद्यार्थीहरूलाई आफ्नो जिम्मेवारी र दायित्वप्रति सचेत गराउने बताए।
कार्यक्रममा सन्तोष महाराज, चन्द्रिका पटेल, गौतम श्रीवास्तवलगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। साथै सहायक कोर्डिनेटर श्रीकान्त प्रसाद बलवार, डिसिप्लिन इन्चार्ज राधेश्याम रोनियार, शिक्षक–शिक्षिका तथा अभिभावकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
नवनियुक्त हेड ब्वाई र हेड गर्लले विद्यालयको नेतृत्व प्रभावकारी रूपमा सम्हाल्ने प्रतिबद्धता व्यक्त गर्दै आफ्नो मन्तव्य राखेका थिए।
विद्यालयका प्रिन्सिपल नरेश राउत कुर्मीले यस्ता कार्यक्रमले विद्यार्थीहरूमा नेतृत्व क्षमता, अनुशासन र समर्पण भावको विकास हुने उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता रचनात्मक तथा प्रेरणादायी गतिविधिलाई निरन्तरता दिइने बताए।
कार्यक्रमको सञ्चालन विद्यालयका कोर्डिनेटर शान्तिकुमार लामाले गरेका थिए भने सहजीकरण कक्षा १० का विद्यार्थी सालु पटेल र मोहन लाल पटेलले गरेका थिए।