वीरगञ्ज– “घरदैलो डाक्टर” कार्यक्रमअन्तर्गत प्रभु हस्पिटल वीरगन्जले बारा जिल्लाको कोल्वी–८ नयाँबस्तीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ।
शिविरमा प्रभु हस्पिटलका वरिष्ठ हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा. शाश्वत साहले हाडजोर्नी सम्बन्धी परीक्षण, नितम्ब तथा घुँडा जोर्नी प्रत्यारोपणसम्बन्धी परामर्श प्रदान गर्नुका साथै निःशुल्क औषधि वितरण र सुगर परीक्षण गरेका थिए।
यस्तै, वीरगन्ज सामुदायिक आँखा अस्पतालको सहकार्यमा आँखा विशेषज्ञ महेश सिंह धामीले निःशुल्क आँखा परीक्षण तथा औषधि वितरण गरेका थिए। परीक्षणका क्रममा मोतियाबिन्दु देखिएका बिरामीहरूको शल्यक्रिया गरिने जनाइएको छ।
शिविरमा ११० महिला, ९० पुरुष तथा ज्येष्ठ नागरिक, बालबालिका, अशक्त र विपन्न वर्गका गरी कुल २०० जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको आयोजकले जनाएको छ।
कार्यक्रमका प्रमुख दिलीप राज कार्कीले अशक्त, ज्येष्ठ नागरिक तथा अस्पतालसम्म पुग्न कठिनाइ हुने विपन्न समुदायलाई घरदैलोमै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गरिएको बताए।
वडा अध्यक्ष अनुप सुवेदीले गाउँमै विशेषज्ञ चिकित्सकबाट निःशुल्क उपचार तथा औषधि सेवा उपलब्ध गराएकोमा आयोजकप्रति आभार व्यक्त गर्दै यस्ता कार्यक्रमले स्थानीयवासीलाई ठूलो राहत पुगेको बताए। वडा संयोजक विशाल ठकुरीले पनि यस्ता स्वास्थ्य सेवामूलक कार्यक्रमले समाजमा सकारात्मक प्रभाव पार्ने उल्लेख गरे।