वीरगञ्ज– स्वास्थ्य कार्यालय बाराको आयोजनामा वातावरण प्रदूषण न्यूनीकरण सम्बन्धी बहस तथा पैरवी कार्यक्रम आइतबार प्रसौनी गाउँपालिकास्थित श्री बेगा माध्यमिक विद्यालयको सभाहलमा सम्पन्न भएको छ।
कार्यक्रममा प्रसौनी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख, शिक्षा शाखाका प्रतिनिधि, शिक्षक–शिक्षिका, स्वास्थ्यकर्मी, सञ्चारकर्मी तथा अन्य सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रमको अध्यक्षता विद्यालयका प्रधानाध्यापक रविन्द्र कुमार गिरीले गरेका थिए।
कार्यक्रमका प्रमुख सहजकर्ता जीतपुर–सिमरा उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत रविकुमार भास्करले वातावरणीय प्रदूषण विश्वव्यापी चुनौतीका रूपमा बढ्दै गएको बताउँदै यसको प्रत्यक्ष असर मानव स्वास्थ्य, जैविक विविधता तथा प्राकृतिक स्रोतसाधनमा परिरहेको बताए।
उनले वायु प्रदूषण, वन विनाश, अव्यवस्थित फोहोर व्यवस्थापन, प्लास्टिकजन्य वस्तुको अत्यधिक प्रयोग तथा उद्योग–कलकारखाना र सवारीसाधनबाट निस्कने धुवाँका कारण वातावरणीय संकट दिनप्रतिदिन गम्भीर बन्दै गएको उल्लेख गरे। अहिले नै प्रभावकारी कदम चाल्न नसके भविष्यमा स्वच्छ हावा, स्वच्छ पानी र स्वस्थ वातावरणको अभाव हुने चेतावनी उनले दिए।
भास्करले पानी प्रदूषणले झाडापखाला, हैजा, टाइफाइड लगायतका विभिन्न रोग फैलाउने जोखिम बढाइरहेको बताए। नदी, पोखरी तथा अन्य जलस्रोतमा फोहोर, रसायन र ढल मिसाउने प्रवृत्तिले खानेपानीका स्रोतहरू समेत प्रदूषित बन्दै गएको उनको भनाइ थियो।
त्यसैगरी ध्वनि प्रदूषणले मानिसको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर पार्ने उनले बताए। अत्यधिक सवारीसाधनको आवाज, लाउडस्पिकरको अनियन्त्रित प्रयोग तथा औद्योगिक गतिविधिबाट उत्पन्न ध्वनिले तनाव, निद्रा समस्या, मानसिक असहजता तथा श्रवणशक्ति कमजोर हुने जोखिम बढाउने विषयमा उनले जानकारी गराए।
कार्यक्रममा जलवायु परिवर्तन, अनियमित वर्षा, बाढी, खडेरी, अत्यधिक गर्मी तथा कृषि उत्पादनमा वातावरणीय विनाशले पार्ने असरबारे समेत विस्तृत छलफल गरिएको थियो। वातावरण संरक्षणका लागि वृक्षारोपण, प्लास्टिकको प्रयोग न्यूनीकरण, फोहोर व्यवस्थापन, जलस्रोत संरक्षण तथा जनचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिइएको थियो।
सहभागीहरूले विद्यालय, समुदाय र घरपरिवारबाटै वातावरण संरक्षणका गतिविधि सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। विद्यार्थीहरूलाई वातावरण संरक्षणसम्बन्धी शिक्षा प्रदान गर्ने, समुदायलाई सचेत बनाउने तथा सञ्चारमाध्यममार्फत वातावरणीय सन्देश प्रवाह गर्ने विषयमा समेत सहभागीहरूले जोड दिएका थिए।
कार्यक्रमको व्यवस्थापन स्वास्थ्य कार्यालय बाराका फोकल पर्सन भगीरथ चौधरी ले गरेका थिए भने सञ्चालन प्रसौनी गाउँपालिकाका स्वास्थ्य प्रमुख सुरेश शाहले गरेका थिए।
कार्यक्रमले वातावरण संरक्षण केवल सरकार वा कुनै एक निकायको जिम्मेवारी नभई सम्पूर्ण नागरिकको साझा दायित्व भएको सन्देश दिएको सहभागीहरूले बताएका छन्।