प्रदेशहरूलाई पूर्ण स्वायत्तता प्रदान गर्नुपर्ने लगायतका विभिन्न माग राख्दै जनमत पार्टीले सोमबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ।यसअघि सरकारसँग भएको आठबुँदे सम्झौताको कार्यान्वयनको माग गर्दै आयोजित प्रदर्शनमा सहभागीहरूले प्रदेशहरूलाई पूर्ण स्वायत्त घोषणा गर्नुपर्ने, कर्मचारी प्रशासन तथा स्थानीय तहलाई प्रदेश मातहत राख्नुपर्ने लगायतका माग अघि सारेका थिए।
त्यसैगरी प्रमुख जिल्ला अधिकारी र नेपाल प्रहरीलाई पनि प्रदेश सरकारअन्तर्गत राख्नुपर्ने, नेपाली सेनामा मधेशी तथा थारु समुदायको सामूहिक भर्ना सुनिश्चित गर्नुपर्ने तथा जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्नुपर्ने माग जनमत पार्टीले गरेको छ।
प्रदर्शनका क्रममा वैदेशिक रोजगारीसँग सम्बन्धित समस्याको समाधान, किसानलाई समयमा मलखाद तथा सहज ऋणको व्यवस्था, साथै चुरे क्षेत्रको दोहन र अतिक्रमण नियन्त्रण गर्नुपर्ने मागसमेत उठाइएको थियो।
कार्यक्रममा सहभागीहरूले मधेशी, थारु, दलित, मुस्लिम, आदिवासी, सुकुम्बासी तथा अल्पसंख्यक समुदायमाथि हुने दमन, शोषण र विभेद अन्त्य गर्नुपर्ने भन्दै नाराबाजी गरेका थिए। प्रदर्शनमा सहभागी जनमत पार्टी पर्साका जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फले उक्त जानकारी दिएका हुन्।
यसैबीच, काठमाडौंमै जेठ २४ र २५ गते दुईदिने केन्द्रीय समिति विस्तारित बैठक जारी रहेको जनाइएको छ। बैठकले पछिल्लो निर्वाचनको समीक्षा, संगठन सुदृढीकरण तथा पार्टीलाई नयाँ ऊर्जा र रणनीतिका साथ अघि बढाउने विषयमा महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको केन्द्रीय सदस्यसमेत रहेका ओमप्रकाश सरार्फले बताए।