२८ जेठ, काठमाडौँ । राष्ट्रिय राजनीतिमा आफ्नो छुट्टै पहिचान बनाएका नवनियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मन्त्रालयमा पदबहाली गरेकै दिन दूरगामी महत्त्वका निर्णयहरू अघि सारेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० नेतृत्वको सरकारमा गत मङ्गलवार मात्रै मन्त्री नियुक्त भएका स्वतन्त्र सांसद पुनले बिहीबार बिहान सामाजिक सञ्जालमार्फत आफ्ना पहिलो दिनका कदमहरू सार्वजनिक गरेका हुन् । उनले परम्परागत मन्त्रालयहरू जस्तो यहाँ कुनै पनि कुरा तयारी अवस्थामा नरहेको उल्लेख गर्दै आफूले ‘शून्य’ बाट कामको थालनी गरेको स्पष्ट पारेका छन् ।
मन्त्री पुनले मन्त्रालयलाई कानुनी र प्रशासनिक रूपमा बलियो बनाउन पदबहालीकै दिन तीनवटा मुख्य निर्णयहरू गरेका छन् । पहिलो निर्णयअन्तर्गत, मन्त्रालयको कामलाई व्यवस्थित र कानुनसम्मत बनाउन सर्वप्रथम ‘विज्ञान प्रविधि तथा नवप्रवर्तन ऐन’ ल्याउने गरी विधेयकको मस्यौदा ९तयारी० गर्ने निर्णय गरिएको छ ।
दोस्रो, नवगठित मन्त्रालयलाई सुचारु रूपमा चलाउन कति कर्मचारी आवश्यक पर्ने, दरबन्दीको ढाँचा कस्तो हुने र कार्यसम्पादनलाई कसरी छिटो एवं प्रभावकारी बनाउने भन्ने निक्र्योल गर्न सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण ९ओ एन्ड एम० गर्ने निर्णय भएको छ।
यसैगरी, हाल सरकारी संयन्त्रभित्र विभिन्न मन्त्रालयहरू अन्तर्गत छरिएर रहेका अनुसन्धान, आविष्कार र नवप्रवर्तनका कार्यहरूलाई कसरी एकीकृत र प्रभावकारी रूपमा अगाडि बढाउने भन्ने विषयमा तुरुन्तै गहन छलफल सुरु गर्ने तेस्रो निर्णय गरिएको छ ।
मन्त्री पुनले मन्त्रालय चलाउन अरू मन्त्रालय जस्तो सहज नभए पनि आफू योजनाबद्ध रूपमा अघि बढेको संकेत गर्दै सामाजिक सञ्जालको अन्त्यमा लेखेका छन् ।