क्रिएटिभ स्कुल्स ग्रुप अन्तर्गतका चारवटा शैक्षिक संस्थाका ७० जना शिक्षक–शिक्षिकाहरूका लागि एकदिने प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा ओशिस माध्यमिक विद्यालय श्रीपुर, ग्रीनल्यान्ड मावि छपकैया, विभूति एकेडेमी विश्वा र अल्फाटेक मोडर्न स्कुल गहवा गरी चार विद्यालयका शिक्षकहरूको सहभागिता रहेको थियो।
प्रशिक्षण कार्यक्रममा मधेस विश्वविद्यालयका प्राध्यापक डा. राजनकुमार मिश्राले शिक्षण सिकाइलाई प्रभावकारी बनाउन विद्यार्थीको मनोवैज्ञानिक पक्ष, परामर्श, प्रविधिको प्रयोग तथा व्यवहारिक ज्ञानलाई समेत समेटेर पठनपाठन गराउनुपर्नेमा जोड दिनुभयो। उहाँले पाठ्यक्रमसँगै विद्यार्थीको रुचि, क्षमता र व्यवहारिक सिकाइलाई जोड्दै शिक्षणलाई जीवनोपयोगी बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो।
त्यस्तै, विद्यार्थीहरूलाई केवल किताबी ज्ञानमा सीमित नराखी व्यवहारिक तथा बाहिरी ज्ञानमा समेत समान महत्व दिनुपर्नेमा उहाँले जोड दिनुभयो। शिक्षक–विद्यार्थीबीचको समन्वय र सहकार्य मजबुत भए मात्र शिक्षण सिकाइ प्रभावकारी बन्ने उहाँको भनाइ थियो।
कार्यक्रम एन–प्याब्सन पर्साका पूर्व अध्यक्ष तथा अल्फाटेक मोडर्न स्कुलका संस्थापक रामसुन्दर चौधरीको सभापतित्वमा सम्पन्न भएको हो।
कार्यक्रममा एन–प्याब्सनका केन्द्रीय सचिव तथा ओशिस माविका संस्थापक प्रिन्सिपल इन्द्रदेव शाह, ग्रीनल्यान्ड माविका संस्थापक प्राध्यापक उपेन्द्र पण्डित, विभूति एकेडेमीका होरिल शाह, लक्ष्मी पुस्तकका सञ्चालक रोहित ब्याहुल लगायतको उपस्थिति रहेको आयोजकले जनाएको छ।