वीरगञ्ज- मधेस प्रदेशको पर्यटन प्रवर्द्धन तथा यहाँका धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदाको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्ने उद्देश्यले आयोजना गरिएको चारदिने ‘मधेस ट्राभल मार्ट २०२६’ आइतबार सम्पन्न भएको छ।
नेपाल पर्यटन बोर्ड र जीतपुरसिमरा उपमहानगरपालिकाको सहकार्य तथा सहयोगमा आयोजित कार्यक्रमको समन्वय र सहजीकरण नाटा (NATTA) मधेस प्रदेशले गरेको थियो। पर्यटनसँग सम्बन्धित विभिन्न संघ–संस्था, भारतस्थित TAB, पर्यटन व्यवसायी, टुर अपरेटर तथा विभिन्न प्रदेशबाट आएका पर्यटन अभियन्ताहरूको आतिथ्यता र सहभागितामा सम्पन्न कार्यक्रममा २०० भन्दा बढीको उपस्थिति रहेको थियो।
नाटा मधेस प्रदेशका अध्यक्ष मोहन शर्मा लामिछानेका अनुसार नेपाल र भारतका विभिन्न सहरबाट आएका पर्यटन व्यवसायी, टुर अपरेटर, कन्टेन्ट क्रियटर, सञ्चारकर्मी तथा पर्यटकहरूलाई मधेस प्रदेशका पर्यटकीय सम्भावना, धार्मिक सम्पदा, संस्कृति र स्थानीय परिकारबारे प्रत्यक्ष जानकारी गराइएको थियो। भारतका रक्सौल, पटना, दरभंगा, सीतामढी, मुजफ्फरपुर, वाराणसी, अयोध्या र कोलकातालगायतका सहरका प्रतिनिधिहरू कार्यक्रममा सहभागी भएका थिए।
कार्यक्रमको औपचारिक उद्घाटन वीरगञ्जस्थित होटल सरोवर पोर्टिकोमा गरिएको थियो। उद्घाटन सत्रमा बीटुबी (B2B) बैठक, प्यानल डिस्कसन तथा ‘जीतपुरसिमरा नेपाल मेयर नाइट’ कार्यक्रम आयोजना गरिएको थियो। सहभागीहरूलाई महागढीमाई मन्दिर दर्शन गराइनुका साथै पर्यटन प्रवर्द्धनसम्बन्धी विभिन्न अन्तरक्रियात्मक कार्यक्रमहरू सञ्चालन गरिएको थियो।
कार्यक्रमअन्तर्गत आयोजित फाम ट्रिप (FAM Trip) मा सहभागीहरूलाई अमलेखगञ्जस्थित सिद्धबाबा हाइकिङ रुट, पर्सा राष्ट्रिय निकुञ्जमा जंगल सफारी, बर्दिबासस्थित तुलेश्वर महादेव मन्दिर तथा जनकपुरधामका प्रमुख धार्मिक तथा सांस्कृतिक स्थलहरूको अवलोकन गराइएको थियो।
समापन कार्यक्रम जनकपुरधामस्थित पौवा होटलमा सम्पन्न भएको थियो। यस क्रममा सहभागीहरूले जानकी मन्दिर दर्शन, गंगा आरती मा सहभागिता तथा होटल वेलकम को आतिथ्यमा आयोजित चियापान कार्यक्रममा सहभागिता जनाएका थिए।
जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोलाप्रसाद अधिकारीले मधेस प्रदेशको पर्यटन क्षेत्रको अपार सम्भावनालाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन यस्ता कार्यक्रम प्रभावकारी हुने बताए। आयोजकका अनुसार मधेस ट्राभल मार्टले भारतीय पर्यटकको आगमन वृद्धि गर्न, मधेसका पर्यटकीय गन्तव्यलाई पर्यटन बजारसँग जोड्न तथा पर्यटन क्षेत्रको आर्थिक गतिविधि विस्तार गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।