वीरगञ्ज– निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याप्सन)सँग आबद्ध विद्यालयका सञ्चालक, डाइरेक्टर तथा प्रिन्सिपलहरूलाई सामाजिक सुरक्षा कोष र कर प्रणाली सम्बन्धी जानकारी प्रदान गर्ने उद्देश्यले आयोजित अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा सामाजिक सुरक्षा कोष सम्बन्धी विषयमा विष्णु पुकार श्रेष्ठले सहजीकरण गर्दै सामाजिक सुरक्षा कोषको महत्व, श्रमिक तथा रोजगारदाताले प्राप्त गर्ने सुविधा, योगदान प्रक्रिया तथा कोषमा आबद्ध हुँदा प्राप्त हुने लाभबारे विस्तृत जानकारी दिएका थिए।
त्यसैगरी, कर प्रणाली सम्बन्धी सत्रमा सन्दीप रौनियारले नेपालको विद्यमान कर प्रणाली, आयकर, मूल्य अभिवृद्धि कर (भ्याट), करदाताको दायित्व तथा करसम्बन्धी कानुनी व्यवस्थाका विषयमा सहभागीहरूलाई जानकारी गराएका थिए।
कार्यक्रमका क्रममा सहभागीहरूले सामाजिक सुरक्षा कोष र कर प्रणालीसँग सम्बन्धित विभिन्न जिज्ञासा राखेका थिए। सहजीकरणकर्ताहरूले उठाइएका प्रश्नहरूको जवाफ दिँदै सहभागीहरूको जिज्ञासा समाधान गरेका थिए।
प्याप्सन महानगर अध्यक्ष राहुल श्रीवास्तवले विद्यालय सञ्चालक, डाइरेक्टर तथा प्रिन्सिपलहरूलाई वित्तीय तथा कानुनी विषयमा थप सचेत र जानकारीमूलक बनाउन कार्यक्रम आयोजना गरिएको बताए। उनले यस्ता अभिमुखीकरण कार्यक्रमले विद्यालय व्यवस्थापनलाई कानुनी तथा प्रशासनिक दायित्वबारे स्पष्ट बुझाइ प्रदान गर्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा प्याप्सनसँग आबद्ध विभिन्न विद्यालयका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। आयोजकका अनुसार यस्ता कार्यक्रमले शैक्षिक संस्थाहरूलाई सामाजिक सुरक्षा तथा कर सम्बन्धी व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।