वीरगञ्ज । विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले मुर्ली–१२ स्थित सगरमाथा स्कुलमा ‘ब्याच वितरण कार्यक्रम–२०८३’ भव्य रूपमा सम्पन्न भएको छ।
नेशनल प्याब्सन वीरगञ्ज नगर अध्यक्ष तथा विद्यालयका संस्थापक जियालाल गुप्ताको सभापतित्व र कौशल श्रीवास्तवको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा विद्यालयका हेड ब्वाय, हेड गर्ल, विभिन्न हाउसका क्याप्टेन तथा उप–क्याप्टेन, साथै कक्षा १ देखि १० सम्मका कक्षा मनिटरहरूलाई नेतृत्व र जिम्मेवारीको प्रतीकस्वरूप ब्याच, टाई तथा ब्यानर वितरण गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै सभापति गुप्ताले नेतृत्व पद प्राप्त गर्नु मात्र नभई जिम्मेवारी, अनुशासन, सेवा र समर्पणको अभ्यास भएको बताउँदै विद्यार्थीहरूलाई आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्न आग्रह गरे। उनले आजका विद्यार्थी नै भोलिका सक्षम नागरिक तथा राष्ट्रनिर्माता भएकाले नेतृत्व क्षमता, आत्मविश्वास र नैतिक मूल्यको विकासमा विशेष ध्यान दिनुपर्ने धारणा व्यक्त गरे।
कार्यक्रममा हरिन्द्र कुशवाहा, नरेश कुर्मी, सुरेश साह, नरेश रौनियार तथा गौतम श्रीवास्तवलगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। पत्रकारहरू राजेन्द्र सिंह राजपूत, जगत राई, अभिलाष गुप्ता तथा दीपु बरनवालको समेत सहभागिता रहेको विद्यालयले जनाएको छ।
विद्यालयका सञ्जीव यादवले सञ्चालन गरेको कार्यक्रममा सम्मानित विद्यार्थीहरूले आफूहरूलाई प्रदान गरिएको जिम्मेवारी निष्ठापूर्वक पूरा गर्दै विद्यालयको गौरव बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए।
कार्यक्रमको समापनमा प्रमुख अतिथि श्रीवास्तवले ब्याच केवल एउटा चिन्ह नभई जिम्मेवारी, अनुशासन, सेवा र नेतृत्वको यात्राको सुरुवात भएको उल्लेख गर्दै विद्यार्थीहरूको उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरे।