वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका सरसफाइ कर्मचारीहरूले न्यूनतम पारिश्रमिक वृद्धि, श्रम अधिकारको सुनिश्चितता तथा प्रशासनिक सुधारको माग राख्दै आइतबारदेखि आन्दोलन सुरु गरेका छन्। आन्दोलनको पहिलो दिन कर्मचारीहरूले घण्टाघर चोकमा फोहोर थुपारेर विरोध प्रदर्शन गरेका थिए, जसका कारण केही समय आवागमन प्रभावित हुनुका साथै बजार क्षेत्रको सरसफाइसमेत अव्यवस्थित बनेको छ।
आन्दोलनरत कर्मचारीहरूले दैनिक ज्याला कम्तीमा एक हजार रुपैयाँ र मासिक पारिश्रमिक ३० हजार रुपैयाँ कायम गर्नुपर्ने माग गरेका छन्। बढ्दो महँगीका कारण हालको पारिश्रमिकले दैनिक जीवनयापन गर्न कठिन भएको उनीहरूको भनाइ छ।
यस्तै, प्रत्येक महिनाको १० गतेभित्र तलब भुक्तानी, श्रम ऐनअनुसार सातामा एक दिन साप्ताहिक बिदा, छठ र होलीजस्ता प्रमुख पर्वमा विशेष बिदा तथा कर्मचारीका परिवारमा मृत्यु वा विवाहजस्ता विशेष अवस्थामा १० हजार रुपैयाँ पेस्की उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने माग पनि उनीहरूले अघि सारेका छन्। साथै, सबै सरसफाइ कर्मचारीलाई पोसाक र आधिकारिक परिचयपत्र उपलब्ध गराउनुपर्ने उनीहरूको माग छ।
कर्मचारीहरूले सरसफाइ व्यवस्थापनमा संलग्न केही सुपरभाइजरमाथि श्रम शोषण र अनियमितताको आरोपसमेत लगाएका छन्। उनीहरूका अनुसार सामान्य वा झुटा आरोप लगाएर कर्मचारीलाई कामबाट हटाउने र पछि रकम लिएर पुनः काममा फर्काउने प्रवृत्ति रहेको छ। यद्यपि यी आरोपबारे सम्बन्धित पक्षको प्रतिक्रिया सार्वजनिक भएको छैन।
यता, आन्दोलनका कारण वीरगञ्जको मुख्य व्यापारिक क्षेत्र घण्टाघर आसपास फोहोर थुप्रिन थालेपछि दुर्गन्ध फैलिने र सर्वसाधारणलाई असहज हुने अवस्था सिर्जना भएको छ।
वीरगञ्ज महानगरपालिकाले भने आन्दोलनरत कर्मचारीसँग संवादमार्फत समस्या समाधानको प्रयास भइरहेको जनाएको छ। यसैगरी यस घटनालाई गम्भीर रूपमा लिँदै बिरगञ्ज महानगरपालिकाका कार्यवाहक नगर प्रमुख इम्तियाज आलम ले विशेष निगरानी गरिरहनुभएको छ। उहाँले सरसफाइ ठेक्का लिएका ठेकेदार शिव गुप्ता लाई सरसफाइ कर्मीहरूको जायज मागबारे तत्काल छलफल गरी यथाशीघ्र समाधानको पहल गर्न निर्देशन दिनुभएको छ।
कार्यवाहक नगर प्रमुख आलमले नगरवासीलाई सास्ती नहोस् र शहरको नियमित सरसफाइ प्रभावित नहोस् भन्ने उद्देश्यले महानगरपालिकाले आवश्यक समन्वय र पहल गरिरहेको बताउनुभएको छ। साथै, महानगरले सरसफाइ सेवामा कुनै अवरोध आउन नदिन आवश्यक सबै कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेको छ।