पर्सा जिल्लामा यस वर्ष मनसुन ढिलो सक्रिय हुँदा अधिकांश खेत अझै बाँझै रहेका छन्। कृषि ज्ञान केन्द्र पर्सा को तथ्याङ्कअनुसार असार १५ गतेसम्म जिल्लामा करिब ७ हजार हेक्टर क्षेत्रफलमा मात्र धान रोपाइँ सम्पन्न भएको छ।
कृषि ज्ञान केन्द्र पर्साका कृषि अर्थविज्ञ अधिकृत सन्दीप ठाकुर का अनुसार जिल्लाको १४ वटै स्थानीय तहमा औसत ५ देखि १० प्रतिशतसम्म मात्र धान रोपाइँ भएको छ। पर्सामा कुल ५७ हजार १०० हेक्टर क्षेत्रफलमा धान खेती हुने भए पनि असार १५ सम्ममा करिब ६ हजार ८४१ देखि ७ हजार हेक्टर क्षेत्रमा मात्रै रोपाइँ भएको उनले बताए।
स्थानीय तहअनुसार सखुवा प्रसौनी गाउँपालिका मा २० प्रतिशत, जगरनाथपुर गाउँपालिका मा १० प्रतिशत, पर्सागढी नगरपालिका मा १० प्रतिशत, ठोरी गाउँपालिका मा १५ प्रतिशत तथा जिराभवानी गाउँपालिका मा १० प्रतिशत धान रोपाइँ भएको छ। अन्य पालिकाहरूमा पनि सोही हाराहारीमा रोपाइँ भएको कृषि ज्ञान केन्द्रले जनाएको छ।
अधिकृत ठाकुरका अनुसार पर्साका अधिकांश किसान अझै पनि आकाशे पानीको भरमा धान खेती गर्ने भएकाले समयमै पर्याप्त वर्षा नहुँदा रोपाइँ प्रभावित भएको हो। मनसुन ढिलो सक्रिय भएकाले खेतमा पानीको अभाव हुँदा रोपाइँमा ढिलाइ भएको उनले बताए।
किसानलाई सिँचाइमा सहजता प्रदान गर्ने उद्देश्यले कृषि ज्ञान केन्द्रले ३५० वटा स्यालो ट्युबवेल (बोरिङ) उपलब्ध गराएको जनाएको छ। तथापि, पर्याप्त वर्षा नहुँदा यसको प्रभाव सीमित रहेको बताइएको छ।
कृषि ज्ञान केन्द्रका अनुसार सामान्य अवस्थामा यस अवधिसम्म पर्सामा करिब २५ देखि ३० हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भइसक्नुपर्ने हो। तर मनसुन ढिलो सक्रिय हुँदा जिल्लाका अधिकांश खेत अझै बाँझै रहेका छन्।
अधिकृत ठाकुरले साउन महिनाको अन्त्यसम्ममा अधिकांश किसानले धान रोपाइँ सम्पन्न गर्ने अनुमान गरिएको जानकारी दिए।