वीरगञ्ज । प्राज्ञिक विद्यार्थी परिषद, नेपाल, सेवा र विकासका लागि युवा संस्था तथा नेपाल–भारत सहयोगको संयुक्त आयोजनामा वीरगञ्जस्थित सिद्धार्थ माध्यमिक विद्यालयका कक्षा १० मा अध्ययनरत १०० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ।
कार्यक्रमको अध्यक्षता प्राज्ञिक विद्यार्थी परिषद, नेपालकी राष्ट्रिय उपाध्यक्ष लक्ष्मी कर्णले गर्नुभएको थियो। प्रमुख अतिथिका रूपमा सिद्धार्थ माध्यमिक विद्यालयका प्रधानाध्यापक विनोद मेहता सहभागी हुनुभएको थियो।
विशिष्ट अतिथिहरूमा प्राज्ञिक विद्यार्थी परिषद, नेपालकी राष्ट्रिय छात्रा प्रमुख डा. सुष्मा तिवारी तथा सेवा र विकासका लागि युवा संस्थाका प्रदेश अध्यक्ष गौरव बर्माको उपस्थिति रहेको थियो। त्यसैगरी, प्राज्ञिक विद्यार्थी परिषदका केन्द्रीय सदस्य घनश्याम नायक, विद्यालयका शिक्षक–शिक्षिका, सञ्चारकर्मी तथा अन्य अतिथिहरूको पनि कार्यक्रममा सहभागिता रहेको थियो।
कार्यक्रमको सञ्चालन परिषदका माध्यमिक विद्यालय संयोजक सन्नी दुबेले गर्नुभएको थियो।
कार्यक्रमअन्तर्गत कक्षा १० मा अध्ययनरत उपस्थित १०० जना विद्यार्थीलाई एक–एक थान विद्यालय झोला, दुई–दुई थान कापी तथा एक–एक थान कलम वितरण गरिएको थियो। साथै विद्यालयलाई शब्दकोश तथा अंग्रेजी बोलचालसम्बन्धी पुस्तकहरू समेत हस्तान्तरण गरिएको आयोजकले जनाएको छ।
आयोजकका अनुसार यस्ता शैक्षिक सहयोग कार्यक्रमले विद्यार्थीको अध्ययनप्रति उत्साह र प्रेरणा अभिवृद्धि गर्नुका साथै शिक्षाको गुणस्तर सुधारमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।