वीरगञ्ज- एलाइड युथ सोसाइटी वीरगञ्जको पाँचौँ वार्षिकोत्सव कार्यक्रम शनिबार आदर्शनगरस्थित त्रिशला होटलमा भव्य रूपमा सम्पन्न भएको छ। सामाजिक, युवा तथा सामुदायिक क्षेत्रमा सक्रिय संस्थाको पाँच वर्षे यात्राको अवसरमा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रबाट योगदान पुर्याएका व्यक्तित्व तथा सञ्चारकर्मीहरूलाई सम्मान गरिएको थियो।
संस्थापक अध्यक्ष ओमकुमार झाको विशेष उपस्थितिमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गणका गणपति एसपी मोहन बस्नेत रहेका थिए। कार्यक्रम मानवसेवा आश्रम वीरगञ्जका संस्थापक देवेश गुप्ताको अध्यक्षतामा सम्पन्न भएको थियो।
कार्यक्रममा संस्थाले विगत पाँच वर्षदेखि समाजसेवा, युवा सशक्तीकरण तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा सञ्चालन गर्दै आएका गतिविधिबारे चर्चा गरिएको थियो। साथै, पत्रकारिता क्षेत्रमार्फत सूचना प्रवाह, जनचेतना अभिवृद्धि तथा सामाजिक उत्तरदायित्व निर्वाहमा उल्लेखनीय योगदान पुर्याएका सञ्चारकर्मीहरूलाई सम्मानपत्र तथा कदरपत्र प्रदान गरिएको थियो।
यस अवसरमा प्रद्युमन सर्राफको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको छ। नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई देवेश गुप्ताले पद तथा गोपनीयताको शपथ गराएका थिए।
सम्मानित हुने सञ्चारकर्मीहरूमा अभिलाष गुप्ता, आनन्द पटेल, राकेश साह, श्याम सर्राफ, सन्तोष कुशवाहा र अर्जुन चौधरी लगायत रहेका थिए। संस्थाले सम्मानित व्यक्तित्वहरूको योगदानको उच्च मूल्याङ्कन गर्दै आगामी दिनमा पनि समाजप्रति समर्पित भएर कार्य गर्न शुभकामना व्यक्त गरेको थियो।
कार्यक्रममा विभिन्न सामाजिक संघसंस्था, युवा, बुद्धिजीवी, समाजसेवी, सञ्चारकर्मी तथा विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले एलाइड युथ सोसाइटीले समाजमा पुर्याउँदै आएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्ता रचनात्मक तथा सामाजिक गतिविधिलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।
कार्यक्रमको समापन गर्दै संस्थापक अध्यक्ष ओमकुमार झाले संस्थाको सफल यात्रामा साथ, सहयोग र विश्वास गर्ने सम्पूर्ण सदस्य, शुभेच्छुक, सञ्चारकर्मी तथा सहयोगीप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझ प्रभावकारी सामाजिक अभियान सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।