वीरगञ्ज । लायन्स क्लब अफ वीरगञ्ज मेट्रो सिटी (डिस्ट्रिक्ट ३२५ एस) ले गाई सेवासँगै लायन्स सिजन २०२६–२७ को औपचारिक उद्घाटन गरेको छ।क्लबका अध्यक्ष लायन पिया सिंहको नेतृत्वमा रानीघाटस्थित जीतपुर गौशालामा आयोजित कार्यक्रममा गौशालामा रहेका गाईहरूलाई हरियो चारा, फलफूल, रोटी तथा अन्य खाद्य सामग्री खुवाइएको थियो। कार्यक्रममा सेवा, करुणा तथा सांस्कृतिक मूल्य संरक्षणको सन्देश प्रवाह गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिंहले सेवामूलक कार्यबाट नयाँ सत्रको सुरुवात गर्नु लायन्स संस्थाको गौरवपूर्ण परम्परा रहेको बताइन्। उनले गाई सेवा हाम्रो संस्कृति र मानवीय संवेदनासँग जोडिएको विषय भएको उल्लेख गर्दै जीवित प्राणीहरूप्रतिको करुणा नै साँचो मानवताको परिचायक भएको धारणा व्यक्त गरिन्। साथै, आगामी सत्रभरि सामाजिक कल्याण तथा जनसेवामूलक कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाइने उनको भनाइ थियो।
क्लबका जिल्ला कार्यकारी सह–प्रमुख तथा चार्टर अध्यक्ष एमजेएफ लायन अशोक बेरिवालले लायन्सको मूल उद्देश्य निस्वार्थ भावले समाज सेवा गर्नु रहेको बताए। सेवा कार्यले समाजमा सकारात्मक सोचको विकास गर्नुका साथै आवश्यकतामा परेकाहरूप्रति संवेदनशीलता अभिवृद्धि गर्ने उनको भनाइ थियो।
कार्यक्रममा क्लबका सचिव लायन नेल्सन भण्डारी, सह–सचिव लायन प्रसिद्धि आनन्द सिंह, लायन्स क्लब अफ वीरगञ्ज परिवारका पूर्व अध्यक्ष तथा अञ्चल अध्यक्ष लायन नरोत्तम पाण्डे, लायन पीयूष दारुका, लायन श्वेता गुप्ता तथा लायन श्रुति गुप्तालगायत सदस्यहरूको उपस्थिति रहेको थियो।
त्यसैगरी, लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२२ ई का जोनल चेयरपर्सन तथा अञ्चल अध्यक्ष एवं लायन्स क्लब अफ रक्सौलका पूर्व अध्यक्ष लायन बिमल सर्राफ र लायन पूनम सर्राफले शुभकामना सन्देश दिँदै क्लबको पहलको प्रशंसा गरेका थिए। उनीहरूले हरेक नयाँ सुरुवात सकारात्मक ऊर्जा, सेवा र सामाजिक उत्तरदायित्वका कार्यबाट हुनुपर्नेमा जोड दिएका थिए।
कार्यक्रमको अन्त्यमा सहभागी लायन्स सदस्यहरूले समाजमा सेवा, करुणा तथा मानवीय मूल्यमान्यताको प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गर्दै सत्रभरि जनहित तथा सामाजिक सरोकारका कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेका थिए।