विद्यार्थीहरूको बौद्धिक, शारीरिक तथा शैक्षिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले विद्या सदन माध्यमिक विद्यालयमा चेस तथा स्पिड स्टार च्याम्पसहित विभिन्न प्रतियोगितात्मक कार्यक्रम सम्पन्न भएका छन्। कार्यक्रममा नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको विद्यालयले जनाएको छ।
चेस प्रतियोगिताअन्तर्गत कक्षा ५, ६ र ७ समावेश गरिएको समूह ‘ए’ मा कक्षा ७ ‘आर’ का मोहम्मद शाइल अन्सारी प्रथम, कक्षा ७ ‘जी’ का अरशद अन्सारी द्वितीय तथा कक्षा ६ ‘आर’ का शेख सर्फराज आलम तृतीय भएका छन्।
त्यसैगरी, कक्षा ८, ९ र १० समावेश गरिएको समूह ‘बी’ मा कक्षा १० का आर्यन शाह प्रथम, कक्षा ८ ‘वाई’ का अशफाक हुसेन अन्सारी द्वितीय तथा कक्षा ९ ‘बी’ का सामीद परवेज तृतीय स्थान हासिल गर्न सफल भए। प्रतियोगिताको संयोजन शिक्षकद्वय इर्शाद अन्सारी र विक्रान्त ठाकुरले गरेका थिए।
यसै अवसरमा आयोजित ‘स्पिड स्टार च्याम्प’ कार्यक्रमअन्तर्गत नर्सरीदेखि कक्षा १ सम्मका विद्यार्थीबीच विभिन्न गतिविधि सञ्चालन गरिएको थियो। जसमा नर्सरी ‘वाई’ की सुहानी चौधरी, एलकेजी ‘आर’ का अयुब अन्सारी र यूकेजी ‘जी’ का मनिष मण्डल आ–आफ्नो तहका स्पिड स्टार घोषित भए। यस्तै, कक्षा १ को नेपाली वाचन प्रतियोगितामा कक्षा १ ‘जी’ की हर्षिका ठाकुर स्पिड स्टार बन्न सफल भइन्। कार्यक्रमको संयोजन शिक्षिकाद्वय लक्ष्मी श्रेष्ठ र निर्मला ढुंगेलले गरेका थिए।
कार्यक्रमको समापनमा विजेता विद्यार्थीहरूलाई प्रमाणपत्र, मेडल तथा ट्रफी प्रदान गरी सम्मान गरिएको थियो। विद्यालय प्रशासनले विजेता विद्यार्थीलाई बधाई ज्ञापन गर्दै सहभागी सबै विद्यार्थीहरूको उत्साह र सक्रियताको प्रशंसा गरेको छ।
विद्यालयले आगामी भदौ १८ गते पुनः विशेष सह–पाठ्यक्रम गतिविधि सञ्चालन गरिने जानकारी दिएको छ। उक्त अवसरमा कक्षा १ देखि ५ सम्मका विद्यार्थीका लागि राखी बनाउने प्रतियोगिता तथा कक्षा ६ देखि १० सम्मका विद्यार्थीका लागि मेहन्दी र खुला हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिने विद्यालयले जनाएको छ।
विद्यालयले यस्ता शैक्षिक तथा सिर्जनात्मक गतिविधिमार्फत विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन, आत्मविश्वास अभिवृद्धि तथा सर्वाङ्गीण व्यक्तित्व विकासलाई निरन्तर प्राथमिकता दिँदै आएको जनाएको छ।