काठमाडौँ । सरकारले साझा यातायातका ७ वटा बसलाई ‘ब्लु बस’ बनाउने तयारी गरेको विषयलाई लिएर सामाजिक सञ्जालमा बहस तीव्र बनिरहेको छ । बसको रंग फेरेर सरकारले नागरिकलाई मूर्ख बनाउन खोजेको आरोप धेरैले लगाएका छन् ।
सरकारले अघि सारेको शासकीय सुधारसम्बन्धी कार्ययोजनामा सातै प्रदेशमा महिला यात्रुका लागि ‘ब्लु बस’ सञ्चालन गर्ने अवधारण अघि सारिएको थियो । त्यसैलाई पूर्णता दिन काठमाडौंमा ब्लु बस सञ्चालन गर्न लागिएको हो ।
सय दिनभित्र २४ वटा ब्लु बस सञ्चालन गर्ने भनिएको थियो । त्यो सम्भव नभएपछि सरकारले भएकै बसको रंग फेरेर फेस सेभिङ गर्न खोजेको छ । यसमाथि विभिन्न टिप्पणीहरू भएका छन् ।
विरोध तीव्र भएपछि रास्वपाका सांसद राजीव खत्री प्रतिवादमा उत्रिएका छन् । ब्लु बस र निलो रङलाई रास्वपाको ट्रेडमार्कसँग जोडेर भइरहेका चर्चाप्रति लक्षित गर्दै उनले यसलाई ‘सस्तो राजनीतिक छेपारे कुरा’ को संज्ञा दिए ।
सांसद खत्रीले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै रङको पछि लाग्नुभन्दा जनताको सेवा ठुलो कुरा भएको बताएका छन् ।
उनले व्यङ्ग्यात्मक शैलीमा प्रश्न गरेका छन्, ‘निलो रङ रास्वपालाई दाइजो दिएको हो र रु के अब आकाश निलो भएकाले रास्वपाको सम्पत्ति घोषणा गर्ने रु राष्ट्रिय झण्डाको निलो किनारा पनि हटाउने रु कि समुद्रमाथि पनि पार्टीको ट्रेडमार्क लगाइदिने रु’
उनले रङसँग डराउनुलाई ‘फोबिया भन्दै राजनीतिमा रङभन्दा कामको महत्त्व हुने तर्क गरेका छन् । चिनियाँ नेता देङ सियाओपिङको प्रख्यात भनाइलाई सापटी लिँदै उनले लेखेका छन्, ‘बिरालो कालो होस् कि सेतो, मुसा मार्नुपर्छ । जनतालाई सेवा दिनुपर्छ ।’
काठमाडौँमा महिलाहरूका लागि निःशुल्क सेवा दिने उद्देश्यले सञ्चालनमा आएका ब्लु बसप्रति रङको चस्मा हेर्नु नहुने उनको भनाइ छ । उनले यसलाई शासकीय सुधारको एजेन्डा मान्नुपर्नेमा पार्टीको एलर्जीका रूपमा हेरिनु खतरनाक भएको बताएका छन् ।
खत्रीले भनेका छन्, ‘आज महिलाहरूलाई निःशुल्क सेवा दिने उद्देश्यले ब्लु बस चलाउन लाग्दा कसैलाई रङ देखेर एलर्जी भएको छ । शासकीय सुधारको एजेन्डालाई पार्टीको चस्माले हेर्ने रोग खतरनाक हो ।’
सांसद खत्रीले अन्य राजनीतिक दलहरूले राज्यको ढुकुटी खर्चेर आफ्ना नेताका नाममा स्मारक र भवन ठड्याउँदा चुप बस्नेहरूले जनसेवाको बसमा प्रश्न उठाएको भन्दै आक्रोश पोखेका छन् । उनले कांग्रेसका सन्त नेता कृष्णप्रसाद भट्टराईको सादगी जीवनको स्मरण गर्दै अहिले उनकै नाममा बनेका ठुला भवनहरूमा स्वार्थको राजनीति भइरहेको जिकिर गरे ।
‘आफ्ना नेताहरूको नाममा सडक, भवन, पार्क ठड्याउँदा राज्यको ढुकुटी चल्छ, त्यो ठीक १ तर जनताको सेवाका लागि निलो बस कुद्दा चाहिँ राष्ट्र संकटमा पर्ने रु’ खत्रीले प्रश्न गरेका छन्।
सांसद खत्रीले निलो रङ कसैको पैतृक सम्पत्ति नभएको र मुख्य कुरा महिलाहरूले सुरक्षित र निःशुल्क यात्रा गर्न पाउनु रहेको बताएका छन् । उनले रङको बहानामा गरिने सस्तो राजनीति बन्द गरेर जनताको सेवामा केन्द्रित हुन समेत आग्रह गरेका छन् ।