वीरगंजको मुख्य सडक २५र२५ मिटर फराकिलो बनाउने अभियान अन्तर्गत सोमबार बिहानैदेखि पुनः डोजर परिचालन गरिएको छ। सडक डिभिजन कार्यालय हेटौँडा र वीरगंज महानगरपालिकाको संयुक्त टोलीले सडकको सीमाभित्र परेका घर, पसल तथा अन्य संरचना हटाउन थालेको हो।
स्थानीयको विरोध र अदालती प्रक्रियाका कारण केही समय रोकिएको सडक विस्तार अभियान यसपटक कडा सुरक्षा व्यवस्थाबीच पुनः सुरु गरिएको हो। सम्भावित विरोधलाई ध्यानमा राख्दै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको बाक्लो परिचालन गरिएको छ। विशेषगरी गण्डक चोक आसपासको क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ।
डोजर सञ्चालनअघि आइतबार राति महानगरपालिकाले प्रभावित क्षेत्रमा माइकिङ गर्दै अन्तिम सूचना जारी गरेको थियो। सोमबार बिहानदेखि संरचना हटाइने जानकारी गराउँदै घरधनी तथा व्यवसायीलाई भवन खाली गर्न तथा बहुमूल्य सामान सुरक्षित स्थानमा सार्न आग्रह गरिएको थियो। सूचनापछि धेरैले रातभरि नै आफ्ना सामान स्थानान्तरण गरेका थिए।
यसअघि ‘वीरगञ्ज बचाउ संघर्ष समिति’को नेतृत्वमा सडक विस्तारको विरोधमा प्रदर्शन, टायर दहन तथा ढुङ्गामुढाका घटनासमेत भएका थिए। त्यसपछि प्रशासनले सुरक्षा व्यवस्था थप कडा बनाएको हो।
गण्डक चोकदेखि मितेरी पुलसम्मको सडक विस्तारको विषय करिब तीन दशकदेखि विवादमा रहँदै आएको छ। गत फागुनमा सर्वोच्च अदालतले स्थानीयले दायर गरेको रिट निवेदन खारेज गरेपछि सडक विस्तारको कानुनी बाटो खुलेको थियो।
संघर्ष समितिले पर्याप्त मुआब्जा र वैकल्पिक व्यवस्थापनबिना संरचना हटाउन खोजिएको भन्दै विरोध जनाउँदै आएको छ। यता, वीरगञ्ज महानगरपालिकाले वीरगञ्जलाई व्यवस्थित, आधुनिक तथा ट्राफिक जाममुक्त सहर बनाउन सडक विस्तार अपरिहार्य रहेको उल्लेख गर्दै अभियानलाई निरन्तरता दिने जनाएको छ।