अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इरानविरुद्ध सम्भावित सैन्य कारबाहीलाई तीव्र बनाउन इजरायलमा दर्जनौं थप हवाई इन्धन भर्ने ९रिफ्युलिङ० विमान पठाउने तयारी गरेको छ। अमेरिकी सञ्चारमाध्यम ब्हष्यक का अनुसार तीन अमेरिकी तथा इजरायली अधिकारीहरूले यसको पुष्टि गरेका छन्।
रिपोर्टअनुसार ट्रम्पले ‘सिचुएसन रुम’मा नयाँ सैन्य रणनीतिबारे छलफल गरेपछि इरानमाथि हाल हर्मोज स्ट्रेट आसपास भइरहेका आक्रमणभन्दा व्यापक सैन्य कारबाहीको विकल्पमाथि विचार गरिरहेका छन्। अमेरिकी प्रशासनले इरानका ऊर्जा पूर्वाधार र आणविक केन्द्रहरूलाई लक्षित गरी बमबारी गर्ने सम्भावित योजनामाथि समेत छलफल गरिरहेको बताइएको छ। यद्यपि ट्रम्पले अन्तिम निर्णय भने गरिसकेका छैनन्।
अधिकारीहरूका अनुसार हर्मोज स्ट्रेट खुला राख्न र इरानलाई आणविक कार्यक्रमसम्बन्धी अमेरिकी माग स्वीकार गराउन दबाब सिर्जना गर्ने उद्देश्यले ट्रम्प प्रशासन सैन्य विकल्प अघि बढाउन तयार देखिएको छ।
यसैबीच अमेरिकी सेनाले लगातार पाँचौं दिन पनि हर्मोज स्ट्रेट तथा इरानको दक्षिणी तटीय क्षेत्रमा आक्रमण जारी राखेको छ। बन्दर अब्बास आसपासका कम्तीमा सात पुलमा बमबारी गरिएको जनाइएको छ। बन्दर अब्बासलाई इरानी रिभोल्युसनरी गार्ड कर्प्स ९आईआरजीसी० को प्रमुख सैन्य केन्द्र मानिन्छ।
उता इरानले पनि जोर्डन, कतार, बहराइन, इराक र कुवेतस्थित अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गरी आक्रमण तीव्र पारेको दाबी गरेको छ। आईआरजीसीले सिरियामा रहेको अमेरिकी बेसमा पनि आक्रमण गरेको जनाएको भए पनि अमेरिकी सेनाले उक्त बेस केही महिनाअघि नै खाली गरिसकेको बताइएको छ।
हाल तेल अवीभ नजिकको बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थल र दक्षिणी इजरायलको रमोन विमानस्थलमा अमेरिकाका करिब ६० रिफ्युलिङ विमान तैनाथ छन्। इजरायली अधिकारीहरूका अनुसार आगामी दिनमा थप दर्जनौं विमान पठाइने तयारी भइरहेको छ, जसले युद्धको सुरुआती चरणको जत्तिकै सैन्य क्षमता पुनः कायम हुने अपेक्षा गरिएको छ।
अमेरिकी सेनाले यी विमानहरू बेन गुरियन विमानस्थलबाट सञ्चालन गर्न चाहेको छ, किनकि क्षेत्रका अन्य हवाई अड्डा इरानी आक्रमणको उच्च जोखिममा रहेको बताइएको छ।
यसबीच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानलाई चेतावनी दिँदै, “यदि इजरायलमाथि आक्रमण गरियो भने त्यसको जवाफ पहिलेभन्दा अझ शक्तिशाली हुनेछ,” बताएका छन्।
यता बेन गुरियन विमानस्थलमा अमेरिकी सैन्य विमानहरूको बढ्दो उपस्थितिले इजरायलभित्र राजनीतिक विवाद पनि चर्किएको छ। एयरपोर्टमा भीड बढ्दा नियमित हवाई उडान प्रभावित हुने र गर्मीयामको बिदामा यात्रा गर्ने यात्रुहरूलाई समस्या पर्ने चिन्ता व्यक्त गरिएको छ।
चुनाव आउन करिब तीन महिना मात्र बाँकी रहेका बेला यातायात मन्त्री मिरी रेगेभले अमेरिकी विमानहरूको संख्या सीमित गर्न वा अन्यत्र सार्न आग्रह गरेकी छन्। तर इजरायलको रक्षा मन्त्रालय र सेनाले उक्त प्रस्तावको विरोध गरेका छन्। अन्तिम निर्णय प्रधानमन्त्री नेतान्याहुले गर्ने बताइएको छ।