वीरगञ्ज— वीरगञ्ज महानगरपालिका–२४, ज्योतिनगरस्थित लिटिल एन्जल्स बोर्डिङ स्कुलमा अध्ययनरत जुनियर तहका विद्यार्थीहरूबीच स्पेलिङ प्रतियोगिता सम्पन्न भएको छ।
विद्यालयका प्रिन्सिपल सन्नी पाख्रिनको अध्यक्षतामा आयोजित प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रिन्सिपल पाख्रिनले गुणस्तरीय शिक्षासँगै अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीहरूको भाषा दक्षता, आत्मविश्वास र प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले स्पेलिङ प्रतियोगिता आयोजना गरिएको बताए। उनले विद्यालयले आगामी दिनमा पनि यस्ता विविध शैक्षिक तथा सिर्जनात्मक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
प्रतियोगितामा सहभागी विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाउँदै आफ्ना क्षमता प्रदर्शन गर्ने अवसर पाएकोमा खुसी व्यक्त गरेका थिए।
विद्यालयले आधुनिक तथा सुविधासम्पन्न शैक्षिक वातावरणमा अध्ययन–अध्यापन सञ्चालन गर्दै आएको छ। साथै, विद्यालय प्याप्सनसँग आबद्ध रही वार्षिक रूपमा आयोजना हुने खेलकुद, हस्तकला, लेखन, बुद्धिचाललगायत विभिन्न प्रतियोगितामा पनि विद्यार्थीहरूको सक्रिय सहभागिता गराउँदै आएको छ।
प्रिन्सिपल पाख्रिनका अनुसार विद्यालयले प्रत्येक वर्ष विभिन्न आन्तरिक तथा बाह्य अतिरिक्त क्रियाकलाप सञ्चालन गर्दै विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा जोड दिँदै आएको छ। यसै वार्षिक कार्यक्रमअन्तर्गत जुनियर स्पेलिङ प्रतियोगिता आयोजना गरिएको हो।