वीरगञ्ज— वीरगञ्ज महानगरपालिका–२४, ज्योतिनगरस्थित लिटिल एन्जल्स बोर्डिङ स्कुलमा आयोजित अन्तर–सदन चित्रकला, हस्तलेखन तथा स्पेलिङ प्रतियोगिताका विजेता विद्यार्थीहरूलाई पदक तथा प्रमाणपत्र वितरण गरिएको छ।
विद्यालयमा आयोजित विशेष समारोहमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई विद्यालयका प्रिन्सिपल सन्नी पाख्रिनले पदक तथा प्रमाणपत्र प्रदान गर्दै बधाई तथा शुभकामना व्यक्त गरे। कार्यक्रममा शिक्षक–शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
प्रतियोगितामा विभिन्न तहका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूको प्रतिभाको प्रशंसा गर्दै प्रिन्सिपल पाख्रिनले यस्ता प्रतियोगिताले विद्यार्थीहरूमा सिर्जनशीलता, अनुशासन, भाषिक दक्षता, आत्मविश्वास तथा स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए।
उनले सह–पाठ्यक्रम गतिविधिले विद्यार्थीहरूको सर्वाङ्गीण व्यक्तित्व विकासमा सकारात्मक योगदान पुर्याउने विश्वास व्यक्त गर्दै विद्यालयले नियमित रूपमा यस्ता रचनात्मक तथा ज्ञानमूलक कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए।
विद्यालयका अनुसार चित्रकला प्रतियोगिताले विद्यार्थीहरूको सिर्जनात्मक क्षमता अभिवृद्धि गर्न, हस्तलेखन प्रतियोगिताले सफा, सुन्दर र व्यवस्थित लेखन संस्कृतिको विकास गर्न तथा स्पेलिङ प्रतियोगिताले अंग्रेजी शब्दभण्डार र हिज्जे ज्ञानमा सुधार ल्याउन सहयोग पुर्याएको छ।
विजेता विद्यार्थीहरूलाई बधाई दिँदै प्रिन्सिपल पाख्रिनले आगामी दिनमा पनि यस्ता प्रतियोगितामा उत्साहपूर्वक सहभागी हुन सबै विद्यार्थीलाई प्रेरित गरे। प्रतियोगितामा सहभागी भएका प्रत्येक विद्यार्थीको प्रयास प्रशंसनीय रहेको उल्लेख गर्दै विद्यालयले उनीहरूको प्रतिभा र दक्षतालाई अभिप्रेरित गर्ने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।